सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय एक महिना थप
काठमाडौं, कात्तिक ७ : सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय एक महिना थप गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल....

काठमाडौं, कात्तिक ७ : सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय एक महिना थप गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय एक महिना थपिएको जानकारी दिएको हो। ठूलो संख्यामा रोजगारदाता र योगदानकर्ता सूचीकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने समय लम्बाइएको हो।
कोषले राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको एक महिनाभित्र सम्पूर्ण रोजगारदाता सूचीकरण भइसक्नु पर्ने मन्त्रालयले जनाएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुन गत असोज मसान्तभित्रको समयावधि तोकेको थियो।
तर, यो समयमा चाडपर्व परेर धेरै सार्वजनिक बिदा रहेकाले फेरि एक महिना मौका दिइएको मन्त्रालयले जनाएको छ।
सामाजिक सुरक्षा कोषमा अहिलेसम्म ८ हजार ८ सय १७ रोजगारदाता र १ लाख ९ सय ६८ योगदानकर्ता आबद्ध भएका छन्।











