महरालाई म्याद थपका लागि फेरि अदालत लगिँदै
काठमाडौं, कात्तिक ७ : बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै हिरासतमा राखिने भएको छ। यसका लागि अनुमति लिन प....
काठमाडौं, कात्तिक ७ : बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै हिरासतमा राखिने भएको छ। यसका लागि अनुमति लिन प्रहरीले आज अदालतमा लग्न लागेको छ।
संसद सविालयकी एक कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा उनलाई १८ दिन अघि पक्राउ गरिएको थियो। उनीमाथिको अनुसन्धान नसकिएकाले अझै हिरासतमा राखिने काठमाडौं प्रहरी परिसरका एसपी उत्तम सुवेदीले बताए।
महरालाई असोज १९ गते पक्राउ गरिएको थियो। दशैंका विदाका कारण अदालतमा पेश गर्न सकिएको थिएन्। उनलाई असोज २८ मा अदालतमा पेश गरिएको थियो। काठमाडौं जिल्ला अदालतले हिरासतमा राखे अनुसन्धान गर्न अनुमति दिएको थियो।
दोस्रो पटक थपिएको म्याद आज सकिएको छ। म्याद सकिएपनि अनुसन्धान नसकिएकाले अझै हिरासतमा राखिने प्रहरीले जनाएको छ।
त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिन लागिएको हो। उनलाई केहीवेरमा जिल्ला अदालतमा पेश गरिने भएको छ।
निवर्तमान सभामुख महरा १८ दिनदेखि प्रहरी हिरासतमा छन्। तर, गम्भीर बिरामी भएको भन्दै उनलाई असोज २३ गतेदेखि नर्भिक अस्पतालमा राखिएको छ। उनलाई अस्पतालबाटै अदालत पेश गरिनेछ।
प्रहरीले अझै उनलाई सात दिन हिरासतमा राख्न माग गर्ने जनाएको छ। प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउछ। त्यसपछि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ।
उनलाई सुरुआतमा बलात्कार आरोप लागेको थियो। आरोप लागेलगत्तै सभामुख पदबाट राजीनामा दिएका थिए।
नेकपाले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो। उनले सांसदबाट राजीनामा दिएका छैनन्।
महरा पक्राउ परेपछि भने बलात्कारको आरोप लगाएकी कर्मचारीले बलात्कारको प्रयास गरेको बताएकी थिइन्। आफूलाई कुटपिट गरेको उनको आरोप थियो।
त्यसपछि प्रहरीले महरामाथि बलात्कारको प्रयास र कुटपिटमा अनुसन्धान गरिरहेको छ। अनुसन्धान पूरा भएपछि उनीमाथि बलात्कार प्रयास र कुटपिटमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।
महराले भने यसलाई अस्वीकार गर्दै आएका छन्।






