Kathmandu Press

समाजवादी–राजपाबीच छठपछि एकता गर्ने तयारीे, अध्यक्ष पदमा कुरा मिल्न बाँकी

काठमाडौं, कात्तिक ३ः मधेशमा जनाधार भएका दुई राजनीतिक दल– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको पार्टी एकीकरणको तयारी अन्तिम चरणमा पुगे पनि नेतृत्....

समाजवादी–राजपाबीच छठपछि एकता गर्ने तयारीे, अध्यक्ष पदमा कुरा मिल्न बाँकी
फाइल फोटो

काठमाडौं, कात्तिक ३ः मधेशमा जनाधार भएका दुई राजनीतिक दल– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको पार्टी एकीकरणको तयारी अन्तिम चरणमा पुगे पनि नेतृत्वमा कुरा नमिल्दा अड्किएको छ ।

समाजवादी पार्टीका दुई जना अध्यक्ष रहेकाले राजपाले पनि एकीकरणपछि आफ्ना दुई जना अध्यक्ष हुनुपर्ने माग सारेको छ । समाजवादीका नेताहरू भने समाजवादीका दुई अध्यक्ष नै भारी भइसकेकाले राजपाबाट महन्थ ठाकुर एक जना मात्र अध्यक्ष थपेर तीन अध्यक्ष हुने गरी एकीकरण गर्न तयार छन् । तर, राजपा वार्ताटोली संयोजक ले राजेन्द्र महतोले आफू पनि अध्यक्ष हुनुपर्ने अडान राखेका छन् । 

दुई पार्टीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति यसअघि नै भइसकेको छ । तत्कालीन नयाँशक्ति, संघीय समाजवादी फोरम र राजपाबीच सैद्धान्तिक एकीकरण गर्ने सैद्धान्तिक सहमतिपछि नै नयाँशक्ति र फोरम एकीकृत भइसकेका छन् । 

नयाँशक्ति र फोरम एकीकृत हुँदा भारतीय चुनावको परिणाम हेरेर मात्र निर्णय गर्ने बताउने राजपा नेताहरू त्यहाँ कुनै परिवर्तन नभएपछि एकीकरण गर्न पहिलेभन्दा लचिलो भएको समाजवादीको मूल्याङ्कन छ । 

दुवै दलका नेताहरू एकीकरणको तयारी अन्तिम चरणमा पुगेको बताउँछन् । समाजवादीका एक नेताले दिएको जानकारीअनुसार, दुई पार्टीबीचको एकता वार्ता पहिलेभन्दा सकारात्मक रुपमा अघि बढेको छ । राजपाले समाजवादीका दुई अध्यक्ष रहेकोमा राजपाबाट पनि कम्तिमा महन्थ ठाकुर र राजेन्द्र महतो दुई जनालाई अध्यक्ष बनाउनुपर्ने अडान राखेको छ । 

नेतृत्वको कुरा मिलेमा एक महिनाभित्र एकता घोषणा गर्ने गरी तयारीमा  राजपाका अध्यक्ष महन्थ ठाकुर र वार्ता टोली संयोजक राजेन्द्र महतो रहेका छन् । तर, राजपा अध्यक्ष मण्डलका बाँकी चार सदस्य भने यसको विपक्षमा छन् । त्यसबाहेक विषेशचन्द्र लाललगायत तमलोपाको एउटा ठूलै समूह पनि एकीकरणको विपक्षमा रहेको स्रोतको दाबी छ । 

राजपा नेताहरूले एकीकरणको पूर्वशर्तका रुपमा समाजवादी पार्टीले सरकार छाड्नुपर्ने अडान राखेको छ । समाजवादीले पनि तिहारलगत्तै केन्द्रीय समितिको बैठक डाकेको छ । 

उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव सकेसम्म सरकारमा बसिरहन चाहे पनि संविधान संशोधन अघि नबढेकाले उनलाई बसिरहन अप्ठेरो भएको छ । समाजवादीले सरकारमा बस्ने–नबस्ने टुंगो लगाउन र पार्टी एकताबारे छलफल गर्न छठलगत्तै केन्द्रीय समिति बैठक डाकिसकेको छ । समाजवादीका ती नेताले भने, ‘तिहारपछि बस्ने पार्टी केन्द्रीय समिति बैठकमा सरकार छाड्नेबारे बहस हुनेछ । संभवतः यो बैठकले सरकार छाड्ने निर्णय गर्ने छ ।’

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, कात्तिक ३, २०७६