Kathmandu Press

चीनले नेपाली सेनालाई १५ करोड युआनबराबरको सैन्य सामग्री दिने सम्झाैता

काठमाडौं, कात्तिक ३ः चीन सरकारले नेपाली सेनालाई १५ करोड युआनबराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उप....

चीनले नेपाली सेनालाई १५ करोड युआनबराबरको सैन्य सामग्री दिने सम्झाैता
रक्षामन्त्रीकाे सचिवालय ।

काठमाडौं, कात्तिक ३ः चीन सरकारले नेपाली सेनालाई १५ करोड युआनबराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वी फेन्घेबीच उक्त सम्झौतामा बेइजिङ्गमा हस्ताक्षर भएको हो । 

चीनका राष्ट्रपति सी चिनफिङले गत साताको नेपाल भ्रमणका अवसरमा चीनले नेपाल सरकारलाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरेअनुसार आइतबार उक्त औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

उक्त सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ । 

रक्षामन्त्री पोखरेलको गत वर्षको चीन भ्रमणका बेला पनि दुई देशका रक्षामन्त्रीहरूबीच नेपाली सेनालाई १५ करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो जुन कार्यान्वयनको चरणमा रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयका उपसचिव मनोजकुमार आचार्यले बेइजिङबाट जारी गरेको विज्ञप्तिअनुसार, उक्तसम्झौतामा हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । 

रक्षा मन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका महामहिम राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पु¥याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले भने, ‘नेपाल–चीनबीचको मित्रतालाई प्रवर्द्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवद्र्धन गर्ने साझा उद्देश्यमा केन्द्रित छ । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिबद्ध छ । माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुकहरूविरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको छ ।’ 

भेटवार्ताका क्रममा चीनका रक्षामन्त्री जनरल वे फेन्घेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको कुरा स्मरण गर्दै भने, ‘उहानमा आयोजित सातौँ मिलिटरी वल्र्ड गेम र बेइजिङ्गमा आयोजना हुन गइरहेको नवौँ जिङसान फोरममा नेपालबाट उच्च स्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’ 

नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गर्दै उनले भने, ‘चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको छ । नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक छ ।’ 

चीनियाँ रक्षामन्त्रीले वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुक बीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको विचार व्यक्त गरेका थिए ।  

भेटवार्ताको अन्त्यमा रक्षामन्त्री पोखरेलले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षामन्त्रीले उक्त निमन्त्रणा सहर्ष स्वीकार्दै भ्रमणका लागि सकारात्मक रहेको र उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए ।   

रक्षामन्त्री पोखरल शनिबार साँझ बेइजिङ्ग पुगेका हुन् । भेटवार्तामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुल,  बेइजिङस्थित नेपाली राजदूतावासका सैनिक सहचारी सहायक रथी विनोद पाण्डेसहित नेपालबाट आएका प्रतिनिधिमण्डलका अन्य सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्