हिमालय एयरलाइन्सले कात्तिक १० देखि बेइजिङ उडान गर्ने
काठमाडौं, कात्तिक ३ : नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि च....

काठमाडौं, कात्तिक ३ : नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा उडान गर्ने भएको छ।
बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान सुरू गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ। ‘बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एक/दुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौँ,’ हिमालय एयरलाइन्सका एक अधिकारीले भने।
कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ। यो गन्तव्यमा सातामा तीन उडान गर्ने जनाइएको छ।
विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो। बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन्।
हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन शहर क्रमशः गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले बेइजिङ बाहेका यी शहरमा नोभेम्बरभित्रै उडान शुरु गर्ने बताएको छ।
हिमालयले गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ।
चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्दर्भमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ। (रासस)











