कविता ओकल्ने सुन्दरका कलाकृति
काठमाडौं, कात्तिक २ : उभिएको घोडा नजिक आएर कागहरू केहि कराइरहेका छन्। मान्छेका आँखा त्यसैलाई नियाल्न व्यस्त छन्। घोडाले के बोलिरहेको छ कि भने केहीले क....
काठमाडौं, कात्तिक २ : उभिएको घोडा नजिक आएर कागहरू केहि कराइरहेका छन्। मान्छेका आँखा त्यसैलाई नियाल्न व्यस्त छन्। घोडाले के बोलिरहेको छ कि भने केहीले कान थाप्छन्। रङ्गीचङ्गी फूलहरू भने घोडालाई स्वागत गर्न लालायित देखिन्छन्।
समयको प्रतिनिधित्व गरिरहेको घोडासँग समाजका विविध पक्षलाई जोडेर चित्र कोरिएको छ। कलाकार सुन्दर लामाको यो कलाकृतिमा घोडाको काँधमा अनेक जिम्मेवारी आएको देखाइएको छ। घोडा इच्छा नभएपनि बाँधिन बाध्य छ।
समयसँगै आउने यस्तै बाध्यतालाई कलाकार लामा चित्रमा उतार्छन्। जीवनमा आउने अनेक भावनात्मक उतावचडावले कहिले विक्षिप्त बनाउछ त कहिले प्रफुल्ल। यस्तै मनोभावलाई चित्रमा उतार्ने कलाकार लामा भन्छन्, ‘सुख प्राप्त भएपछि हराएर जान्छ, दुःख चाँहि मानिसको भावानात्मक तरङ्गमा थुनिन्छ । तिनै अन्तरमनको भाव यस कलाकृतिमा देख्न सकिन्छ।’
उनले अर्को चित्रमा उतारेका छन, साँडे। मान्छेका फरकफरक स्वभाव र व्यवहार हुन्छन्। कतिपयलाई व्यवहारले थिच्दैन, स्वतन्त्र भएर बाच्छन्। त्यहि स्वतन्त्रतालाई उनले साँडेमा प्रतिविम्बित गरेको बताउँछन्।
मान्छे रिसाउँदा उसमा हुने भावनात्मक तथा व्यवहारिक परिवर्तनलाई लामाले भैरवको आकृतिमा देखाउन खोजेका छन्। उनको चित्रमा कंकाल आउछन्, बम मःम आउछ, त्यसमाथि साँडे बसिरहेको देखिन्छ। उनी समाजका विविध पाटोलाई अनेक विम्बमा उतारेको बताउँछन्।
अर्को चित्रमा उनले घोडालाई मान्छेको प्रतिकात्मक रुप देखाएका छन्। दौडिरहेको घोडाको टाउको भने ठूलो मुख भएको कंकालको छ। जसलाई सिङ्गो उज्यालो खाने दैत्यका रुपमा परिभाषित गरेका छन्, उनले। ‘मान्छेको शारीरिक बनावट राम्रो भएपनि उसभित्र यस्तै दैत्य भाव पनि लुकेको हुन्छ,’ लामा थोरै वर्णन गर्छन्।
उनले सांसारिक मोहबाट मुक्त भएर मोक्ष प्राप्तिमा लिप्त भएको मान्छेलेलाई पनि चित्रमा उतार्न भ्याएका छन्। उनले अर्को ‘आधार समाप्ति आत्मा’ शीर्षकमा उनले प्रश्न गरेका छन्, मान्छेको लिङ्ग हरायो भने उसको अस्तित्व के हुन्छ?
कलाकार लामाले आमाका अनेक रुपलाई पनि चित्रमा उतारेका छन्। सन्तान सुखलाई आमाको आँखाबाट उतार्न खोजेको उनी बताउँछन। उनका चित्रमा नारीलाई सरस्वती, लक्ष्मी र दुर्गाको रुपमा देख्न सकिन्छ।
समकालिन कलामा भिज्दै गरेका लामा चित्रकलामा इन्सुलेसन, प्रोफमेन्स तथा ड्रइङमार्फत आफ्नो प्रस्तुति दिँदै गरेका छन्। उनी आत्मसन्तुष्टिका लागि चित्र कोर्छन्। ‘कलामा आत्मसन्तुष्टि पाउँछु,’ उनी भन्छन्। उनको यहि कर्मले थुप्रै अवार्ड र सम्मान पनि पाएका छन्।
कलाकारले आफ्नै भावमा चित्र कोर्छन्। कलाप्रेमी कलाकारले चित्रमा देखिएको भावलाई जसरी पनि बुझ्न सक्छन्। तर, उनले भने आफ्नो कलाकृति बुझाउन अर्को उपाय पनि अपनाएका छन्, कविता। कलाकृतिलाई कवितामा उतार्न खोजेको बताउदै उनी भन्छन, ‘चित्रकलाका पारखीलाई कलाको भाव कवितामार्फत पनि बुझाउने कोसिस गरिरहेको छु।’
कलाकृतिलाई कवितामा पनि पढ्न मन छ भने कलाकार लामाको ‘सुसेलिरहेको मान्छे’ कविता संग्रह पढ्न सक्नुहुन्छ। जहाँ उनका कलाकृतिसँग कविता पनि उपस्थित भएका छन्।