ट्राफिक जरिवाना तिर्न बैंक धाउनुनपर्ने, क्यूआर कोर्डबाट कसरी तिर्ने ?
काठमाडौं, वैशाख १५ : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक जरिवाना तिर्न नयाँ प्रविधिको सुरुवात गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले कुमारी बैंकसँगको...
काठमाडौं, वैशाख १५ : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक जरिवाना तिर्न नयाँ प्रविधिको सुरुवात गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीले कुमारी बैंकसँगको सहकार्यमा क्यूआर कोडबाटै ट्राफिक जरिवाना तिर्ने प्रविधिको विकास गरेको छ।
बिहीबार एक कार्यक्रम गर्दै क्यूआर कोडमार्फत जरिवाना तिर्न सकिने प्रविधिको शुभारम्भ गरिएको प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासले जानकारी दिएका छन्। सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनु पर्ने वा नगद पैसा बोकेर बैंकमा घन्टौं लाइनमा बस्नुपर्ने वाध्यताको अन्त्य भएको एसपी दासले बताए।
कार्यक्रममा बाेल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले ट्राफिक नियम उल्लङ्घन गरे उपर सेवाग्राहीहरुले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यू आर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरी सकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सकिने बताए । उनले ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको बताए।
कुमारी बैङ्कका डिजिटल बैङ्किङ प्रमुख अनिश ताम्राकारले यसरी ट्राफिक प्रहरीसँग सहकार्य गरी काम गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले नागरिकलाई थप सुविधा दिने बताइन् । उनले आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पारी सहकार्य गर्दै जाने प्रतिबद्धतासमेत जनाए।
कसरी लिने यो सेवा ?
यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नं. ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (TVRS) बाट क्यूआर कोड जेनेरेट (Generate) गरि मनिटरमा डिसप्ले (Display) गरिन्छ र उक्त क्यूआर कोड डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसन मार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी पश्चात तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।
यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ । यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाईन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भईसकेको र त्यस प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था शुरू गरिएको हो ।
कार्यक्रममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरू तथा कुमारी बैङ्कका पदाधिकारीहरूको उपस्थिति थियो ।











