सिर्जनाका सात संकल्प : काठमाडौं महानगरपालिकालाई उत्कृष्ट र सुरक्षित सहर बनाउने
संकल्पपत्रमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मौलिक संस्कृति र सम्पदाको संरक्षण र पुननिर्माणलाई लगायतका थुप्रै विषयलाई प्राथमिकता दिने बताएकी छन्।
काठमाडौं, वैशाख १५ : काठमाडौं महानगरपालिकाको मेयरका लागि गठबन्धनतर्फका उम्मेदवार सिर्जना सिंहले स्थानीय निर्वाचनका लागि ७ संकल्प सार्वजनिक गरेकी छन्। बिहीबार राजधानीमा एक समारोहकाबीच सिंहले संकल्प सार्वजनिक गरेकी हुन्।
उनले सार्वजनिक गरेको संकल्पमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मौलिक संस्कृती र सम्पदाको संरक्षण र पुननिर्माणलाई लगायतका थुप्रै विषयलाई प्राथमिकता दिने बताएकी छन्।
काठमाडौंलाई सुरक्षित सहर बनाउने र देशकै उत्कृष्ठ पालिका बनाउने घोषणा गर्दै सार्वजनिक गरिएको संकल्पपत्रमा निम्न बुँदा उल्लेख छन् :
१. सेवा र सुशासन
– महानगरपालिकालार्य विधिको शासन नियमन कानून भित्र रही चलाउने संकल्प गर्दछु
– भ्रष्टाचारमुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ठ पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु।
– संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समूदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु।
२. स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा
– शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउनेछु।
– महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनः स्थापना सहितका ‘शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र’को स्थापना र विशेषज्ञ सेवासहितका महानगरीय अस्पतालको सञ्चालन गर्नेछु।
– ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु।

३. स्वच्छ, सफा, दिगो पर्यावरण
– काठमाडौं महानगरलाई जेरो वेस्ट नगरपालिका बनाउनेछु।
– पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु।
– सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः फल्चा आदिको संरक्षण, पुस्थापना तथा विस्तार गर्नेछु।
४. सुरक्षित सहर
– महिला, बालबालिका, ज्येष्ठ नागरिक , अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षत अनुभव गर्न सक्ने र हिँडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु।
– विपत थेग्न सक्ने क्षमतावानयुक्त सहरको निर्माणका लागि काम गर्नेछु
५. संस्कृति, सम्पदता र सभ्यता
– मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशलाई समूदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिीलाई पर्यटनसँग जोड्नेछु।
– गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु।
६. सबल र समुन्नत पूर्वाधार
– सहज रुपमा हिँडडुल गर्ने पूर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई बिकास गर्नेछु।
– महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु।
– महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पूर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अबिलम्व कार्य गर्न सक्नेगरी संस्थागठत क्षमताको विकास गर्नेछु।
७. सबल युवा, स्वावलम्बी महिला सृजनशील महानगरवासी
– युवाको लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलतालाई अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु।
– उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु।











