Kathmandu Press

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व : मन्त्री कार्की

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व : मन्त्री कार्की

काठमाडौं, वैशाख १५ : ‘लोकतन्त्रको आधारशिला : व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सातौं राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले सो नारा तय गर्नुका साथै विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आमसञ्चार, पत्रकारिता, सञ्चारसम्बद्ध संस्था, आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हाे।

साथै सञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारलाई विशेषांक, लेख, संवाद, अन्तर्वार्तालगायत  कार्यक्रम प्रकाशन र प्रसारण गर्न एवं यस वर्षको दिवसको नारालाई उच्च प्राथमिकताका साथ प्रकाशनप्रसारण गर्न लगाउने निर्णय बैठकले गरेको छ।

दिवसका अवसरमा यही वैशाख २३ देखि २५ गतेसम्म आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले बेलुका दीपावली गर्न पनि अनुरोध गरिएको छ।

सो अवसरमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजान सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। उनले भने, 'दक्षिण एसियामा नै नेपाललाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ र यसमा सम्बद्ध निकायहरू पनि उत्तिकै जिम्मेवार रहनुपर्दछ।'

पत्रकारिता दिवसका अवसरमा तय गरिएको नाराअनुसार समाजलाई निर्देशित गर्न पनि उत्तिकै अग्रसरताको खाँचो रहेको मन्त्री कार्कीले औंल्याए। उनले पत्रकारिता दिवसका अवसरमा पुरस्कृत हुने व्यक्तित्वले जनतालाई प्रेरित गर्न सक्नुपर्ने बताए।

सो अवसरमा मन्त्रालयका सचिवलगायत उच्च अधिकृत एवं मातहतका विभिन्न सञ्चारमाध्यमका प्रमुख, सञ्चारसम्बन्धी विभिन्न व्यावसायिक तथा पेशागत संस्थाका प्रतिनिधिको उपस्थिति थियो। वैशाख २४ गतेलाई सरकारले विगत सात वर्षदेखि औपचारिकरूपमा राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्