Kathmandu Press

कांग्रेस प्रवक्ता डा. महतले भने- केशव स्थापितको 'गेम इज ओभर'

उनले नेपालको सभ्यताको संरक्षण गर्न काठमाडौं महानगरपालिकामा कांग्रेसले जित्नु जरुरी रहेको बताएका छन्। महानगरको संस्कृति संरक्षण गर्दै सुशासन र समृद्धि ल्याउन कांग्रेसले जित्नैपर्ने आवश्यकता उनले औंल्याए।
कांग्रेस प्रवक्ता डा. महतले भने- केशव स्थापितको 'गेम इज ओभर'

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताएर गफमय र मनोरञ्जनमय बनेको मुलुकलाई काममय बनाउनुपर्ने बताएका छन्। 

सत्ता गठबन्धनबाट काठमाडौं महानगर मेयर उम्मेदवार सिर्जना सिंहको आज (बिहीबार) ‘संकल्पपत्र’ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उनले एमालेबाट मेयर उमेदवार रहेका केशव स्थापितले अरू केही नेताहरूले झैं मनोरञ्जन गरिरहेको र त्यो धेरै दिन नटिक्ने बताए।

उनले स्थापितको कटाक्ष गर्दै मनोरञ्जन गराए चलिहाल्छ नि भन्नेहरूबाट राजनीति चल्न नसक्ने बताए। उम्मेदवार दर्ता गराएकै दिन ‘गेम इज ओभर’ भनेका स्थापितको चाहिँ यो चुनावमा ‘गेम इज ओभर’ हुने बताए। ‘वाग्मतीमा धेरै पानी बगिसकेको छ, अब फेरि फर्केर आउने सपना नदेखे हुन्छ,’ उनले भने।

‘अहिले काठमाडौंमा केशव स्थापित फेरि मनोरञ्जन गरिरहेको देख्छु,’ उनले भने, ‘राजनीति मनोरञ्जन होइन, चुनावको मुखमा जसले धेरै मनोरञ्जन दिन्छ, उसैलाई जिताउनुपर्ने हो कि भनेजस्तो अवस्था सिर्जना गर्न खोजिएको देख्छु। तर अब धेरै मनोरञ्जन चल्दैन।’

उनले नेपालको सभ्यताको संरक्षण गर्न काठमाडौं महानगरपालिकामा कांग्रेसले जित्नु जरुरी रहेको बताएका छन्। महानगरको संस्कृति संरक्षण गर्दै सुशासन र समृद्धि ल्याउन कांग्रेसले जित्नैपर्ने आवश्यकता उनले औंल्याए।

काठमाडौं महानगरको मेयर उम्मेदवारमा सिर्जना सिंहले उम्मेदवारी दिनु भनेको सबैका लागि गौरवको विषय भएको उनले बताए। कांग्रेस देशकै जिम्मेवार पार्टी भएकाले काठमाडौंको दिगो विकासका लागि सिर्जना सिंहलाई जिताउनुपर्नेमा उनले जोड दिए।

सिर्जना सिंहलाई आफूले प्रकाशमान सिंहभन्दा पहिला चिनेको भन्दै उनमा काठमाडौं बनाउने क्षमता रहेको जिकिर गरे।
 
‘मैले प्रकाशमानजीलाई भन्दा पहिलेदेखि सिर्जनाजीलाई चिनेको हुँ, म विद्यार्थी राजनीति गर्दा नै सिर्जनाजी विद्यार्थी राजनीतिमा आउनुभएको थियो। उहाँ सक्रियता त्यही बेलादेखि हो,’ प्रवक्ता महतले भने, ‘विवाहपछि उहाँले चुपचाप भएर परिवारलाई सघाउनुभयो। त्यही कारण त्यो परिवारको एउटा मिसन पूरा भयो। वास्तवमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा गणेशमान सिंहको परिवारको ठूलो योगदान छ ।’

सिर्जनाको नेतृत्वमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कांग्रेसलाई जिताउनसपर्ने उनको भनाइ थियो।

काम गर्ने पार्टी भएकाले कांग्रेस खुरुखुरु काम गर्नतिर लागेको जिकिर उनले गरे। उनले बागी उम्मेदवारहरूलाई फिर्ता आउन आग्रह गरे। उनले देशभरि गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ताहरूलाई अनुरोध गर।। 

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, वैशाख १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्