विराटनगर मेयर उम्मेदवार कोइरालालाई सघाउँदै नेता आचार्य
विराटनगर, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत...
विराटनगर, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन्।
निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहेका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा विराटनगरले युवा उम्मेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास कांग्रेस नेतृत्वको सरकारबाट मात्र सम्भव हुने स्पष्ट पारे।
कोइरालाको साथमा विभिन्न वडाका उम्मेदवार पनि खटिएका छन्। घरदैलो कार्यक्रमका क्रममा कोइरालाले महानगरको नेतृत्व कांग्रेसमा आए जनताको चाहना, भावनाअनुसार काम गर्ने बताए।
उनले विराटनगरको विकासमा विगतदेखि नै कांग्रेसको योगदान रहँदै आएको दाबी गर्दै समय सुहाउँदो महानगरको निर्माण नै आफ्नो अभियान रहेको धारणा राखे।











