गठबन्धनको विरोध गर्ने एमाले आफैं सारथि खोज्दै हिँडेको छ : महामन्त्री थापा
काठमाडाैं, वैशाख १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गरेका छन्।कांग्रेस...
काठमाडाैं, वैशाख १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गरेका छन्।
कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा आफूहरूको एकपछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गरेका हुन्।
उनले ओलीले कांग्रेसको घोषणापत्रलाई पागल प्रलापको संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले झुटलाई कसैले चुनौती दिँदा एमाले अध्यक्ष ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र डा. गोविन्द केसीलाई पनि पागल भनेको बताए।
उनले ओलीलाई लजिक मन नपर्ने र म्याजिक मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको पनि बताए।
थापाले आफ्ना पार्टीका कार्यकर्ताले घोषणापत्र पढ्न नभ्याएको भए पनि ओलीले रातिराति पढेर आलोचना गरेको जिकिर गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि सुझाव दिए।
एमालेले भनेको समृद्धि र कांग्रेसले भनेको सम्मुनत नेपालको परिभाषा नै फरक रहेको दाबी गरे। उनले चुनावबाट फुर्सदिलो भएपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई ट्युसन पढाउने पनि बताए।
महामन्त्री थापाले सत्ता गठबन्धनको विरोध गर्दै हिँडेको एमालेले आफै सारथि खोज्दै हिँडेको जिकिर गरे। उनले पार्टीभित्रका असन्तुष्टिहरुलाई मध्यनजर गर्दै विभेदको क्षतिपूर्तिसहित न्यायको निर्णय हुनगरि काम गर्ने बताए।
उहाले कांग्रेसको घोषणापत्र सबै उम्मेदवारले अनिवार्य पढ्नुपर्ने भन्दै त्यसको उलंघन भए कडा कारवाही गर्ने चेतावनी दिए।











