नेकपा एस मकवानपुर अध्यक्ष पोखरेललगायतले गरे पार्टी परित्याग
काठमाडाैं, वैशाख १४ : नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधरकुमार पोखरेलसहितका केही नेताले पार्टी परित्याग गरेका छन्।उनीहरूले आज (बुधबार) हेटौंडामा पत्रकार सम्मेलन गरेर...
काठमाडाैं, वैशाख १४ : नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधरकुमार पोखरेलसहितका केही नेताले पार्टी परित्याग गरेका छन्।
उनीहरूले आज (बुधबार) हेटौंडामा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा भइरहेका गतिविधिले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएकाे भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेमा अध्यक्ष पोखरेलसहित जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, वीरेन्द्र जिसी, गोपालबहादुर स्याङ्तानलगायत छन्।
स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले निर्वाचनपछि देशभर पार्टी कमजोर हुने र नेपालको कम्युनिस्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहर गरेका छन्।
उनीहरूले एक विज्ञप्ति नै जारी गरेर जबर्जस्ती ढंगबाट पार्टीमा व्यक्तिवाद हुर्काउन खोजेको, सरकारमा गएको मन्त्री र राजकीय ठाउँमा पाएका अवसरमा पठाइएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्त मनोवृत्तिले दास बनाउने सोच हाबी हुँदै गएको आरोप लगाएका छन्।
पोखरेलले मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशमा पार्टी गठबन्धन गर्न असफल भएको, परिचित तथा संगठन निर्माणमा लागेकाहरूलाई पार्टीले बाइपास गरेको पनि उनले बताएका छन्।
आठ महिनाअघि एमालेबाट गरिएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोच मात्र रहेको निष्कर्ष उनीहरूले निकालेका छन्।












