मोरङबाट विप्लव नेकपाका दुई कार्यकर्ता धरौटीमा रिहा

विराटनगर, वैशाख १४ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन्। उनी पक्राउ परेका साढे २ वर्षपछि अदालतको आदेशबाट रिहा भएका हुन्।
२०७६ असो १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो। अढाई वर्षपछि सो मुद्दाको विषयमा फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधिश किशोर घिमिरेको इजलाशले धरौटीमा छोड्न आदेश दिएको खतिवडाले बताए। खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन्।
डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन्। उनीहरुलाई प्रहरीले मोरङको इक्राहीबाट पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो।
अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले आफ्नो राजनीतिक यात्रा नेकपा विप्लप समूहमै रहेर निरन्तर गर्ने बताएका छन्। ‘हामी राजनीतिक प्राणी हौं, त्यही पार्टीको नामबाट हामीलाई पक्राउ गरी अढाई वर्ष जेलमा राखियो, अहिले त्यो पार्टी छोडिँदैन, राजनीतिक काममा लाग्छौं,’ खतिवडाले भने। खतिवडा बुढीगंगा ४ का लोकप्रिय र बौद्धिक युवा नेता मानिन्छ।











