गठबन्धनका ७ निर्णय : सहमतिविपरीतका उम्मेदवारी फिर्ता गराउने, एमालेसँग भएको तालमेल खारेज गर्ने
पाँच दलीय गठबन्धनको केन्द्रीय नेतृत्वले स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णय विपरित दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गराउँदै एमालेसँग तालमेल गरेको भए सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ।
काठमाडौं, वैशाख १४ : पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णय विपरित दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको बैठकले गठबन्धनको निर्णय विपरित देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको सहमतिविपरित दर्ता भएका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो।
पाँच दलीय गठबन्धनको केन्द्रीय नेतृत्वले देशभर तालमेल गरी अगाडि बढ्ने निर्णय गरी सोही अनुसारको निर्देशन दिएको भएपनि अधिकांश स्थानीय तहमा गठबन्धनको निर्णय विपरित सबै दलले मनोनयन दर्ता गराएका छन्।
स्थानीय तहको बाँडफाडको विषयमा असन्तुष्ट कार्यकर्ताहरुले पार्टीको केन्द्रीय निर्देशन र स्थानीय सहमतिको अवज्ञा गर्दै उम्मेदवारी दर्ता गराएका थिए। सोही विषयमा छलफल गर्न बुधबार बालुवाटारमा बसेको बैठकले सहमति विपरित दर्ता भएका उम्मेदवारी फिर्ता लिन सम्बन्धित दलले काम गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि फिर्ता गराइने भएको छ।
त्यस्तै स्थानीय तहमा गठबन्धनका दलहरुले एमालेसँग तालमेल गरेको भए सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय भएको छ।
सिट बाँडफाँट र समझदारी हुन नसकेका स्थानीय तह र तीनका वडाहरुमा आजै समझदारी जुटाउन स्थानीय र प्रदेश संयन्त्रलाई निर्देशन दिएको छ। सहमति हुन नसकेमा स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिन पनि आग्रह गरिएको छ।
यस्ता छन् ७ निर्णय
१. ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता गरेका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने।
२. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरु फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने।
३. ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठथक आजै राखेर वडाका विभिन्न पदहरुमा गठबन्धनभित्रका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी गर्ने।
४. नगरपालिका र गाउँपालिकाहरुमा गठबन्धनका दलहरुका बिचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत गठबन्धनभित्रका दलहरुबाट दर्ता भएका उम्मेदवारीहरु फिर्ता गर्ने।
५. गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने ।
६. गठबन्धनका दलहरुका बीचमा सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरु आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने। त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रलसँग आवश्यक परामर्श र सहयोग लिने।
७. गठबन्धनभित्रभका दलहरुले कुनैपनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेका ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने।











