कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल
काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव...
काठमाडौं, वैशाख १४ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन अपिल गरेका छन्।
डा कोइरालाले आज विज्ञप्तिमार्फत यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर कांग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन् । निर्वाचनको सकारात्मक परिणामले प्रदेश र सङ्घीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उहाँले उल्लेख गरेका छन्।
कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताको सङ्ख्या अत्यधिक रहेको, अधिकांश योग्य र सक्षम रहेका भए पनि टिकट वितरण कार्य सहज नभएको उल्लेख गर्दै नेता कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेबारेमा आफूहरूले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरूपमा आवाज उठाएको बताएका छन्।
‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु । निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौँ । साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु,’ कोइरालाद्वारा जारी विज्ञिप्तिमा उल्लेख छ । नेता कोेइरालाले टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र आफ्नो पार्टी छाडेर अन्य पार्टीमा ओत लाग्न पुगेका कार्यकर्तालाई कांग्रेसको मूलप्रवाहमा फर्कनसमेत आग्रह गरेका छन्।











