कञ्चनजङ्घाको आधारशिविरमा पुगे ४७ आरोही
फुङ्लिङ, वैशाख १४ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधारशिविर पुगेका छन्।दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधारशिविर पुग्ने गर्छन्।...
फुङ्लिङ, वैशाख १४ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधारशिविर पुगेका छन्।
दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधारशिविर पुग्ने गर्छन्। दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधारशिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिइन्।
आधारशिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्यान्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उनले बताइन्।
केही आरोहीले गत साता नै आधारशिविर पुगेर आरोहणको तयारी थालेका छन्। यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधारशिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए।
कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधारशिविर आउने क्रम जारी रहेको छ।
लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निरास बनेका थिए। कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो।
कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो। अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक राईले बताए।
फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पा कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको बताए। 'विगत वर्षमा दुई-चार जनाबाहेक आरोहण गर्न आउँदैनथे । यसवर्ष उल्लेख्य सङ्ख्यामा आरोही हिमाल आरोहण गर्न आएका छन्,' उनले भने। (रासस)











