कैलालीमा गाउँपालिका अध्यक्षका उम्मेदवार विरुद्ध उजुरी
धनगढी, वैशाख १४ : कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध...
धनगढी, वैशाख १४ : कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।
कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए।
घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडाध्यक्षमा उम्मेदवारी दिएका हिराजन विष्टका विरुद्ध उजुरी परेको छ।
पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए।
कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ। जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन। जिल्लाका पालिकाहरूमा सोमबार अबेर रातिसम्म उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो।
अधिकांश उम्मेदवार अपराह्नपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराउन आएपछि देखिएको भीडले कर्मचारीलाई दर्ता प्रक्रिया पूरा गर्न निकै समय लागेको थियो। अधिकांश पालिका तहका निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी आज पनि उम्मेदवार दर्तासम्बन्धी कामको रुजु गर्नेलगायतको काम गरिरहेका थिए।
जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस पार्टी र नेकपा (माओवादी केन्द्र) को तर्फबाट दुई-दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको पत्रसहित कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, माओवादीको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत हिरालाल चौधरीले बताए।
एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने उनीहरुका बारेमा सम्बन्धित पार्टीबाट पत्र आएपछि को आधिकारिक हो भन्ने एकिन हुने उनले बताए। पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानूनी व्यवस्था छ।











