सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त अपिल : गठबनधनका साझा उमेदवारलाई बिना शर्त मतदान गरौं
काठमाडाैं, बैशाख १३ : सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका साझा उमेदवारहरुलाई मतदान गर्न अपिल गरेका छन्।विद्यार्थी संगठनहरुले...
काठमाडाैं, बैशाख १३ : सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी संगठनहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका साझा उमेदवारहरुलाई मतदान गर्न अपिल गरेका छन्।
विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै नमिलेका ठाउँहरुमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्नसमेत आग्रह गरेका छन्।
‘मनोनयन समेत दर्ता भइसकेको वर्तमानको सन्दर्भमा ,स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्रका साझा उमेदवारहरुलाई अत्याधिक मतका साथ हरेक स्थानिय तहमा बिजय गराउन गठबन्धन विद्यार्थी संगठन आम अपिल गर्न चाहन्छ।’ विद्यार्थी संगठनहरुले भनेका छन् ‘कतिपय नमिलेका ठाउँहरुमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्ने गरि प्रस्तुत हुन र देशैभर गठबन्धन सम्बद्ध दलका उमेदवारहरुलाई बिना शर्त र बडो मेहनतपुर्वक बिजयी बनाउने अभियानमा एकताबद्ध र लामबद्ध हुन सम्पुर्ण विद्यार्थीहरु, युवा जगत र आम परिवर्तन पक्षधर जनसमुदायमा संयुक्त विद्यार्थी संगठन जोडदार अपिल गर्दछ।’
विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस निकट नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंकका अध्यक्ष देवेन्द्र कुवर छन्।
दुइ-दुई पटक संसद विघटन गरेर जनताको संसदको हत्या गर्ने,जनमतलाई कुल्चिएर अदालत र अन्य संबैधानिक अंगहरुमा बेथिती पैदा गराउने अनि मुलुकलाई प्रतिगमको बाटो तर्फ डोर्याउने जनबिरोधी शक्तिलाई जनताले हराउने विद्यार्थी संगठनहरुको दावी छ।
प्रतिगामी विरोधी र परिवर्तनकारी मोर्चाको रुपमा बनेको पाँच दलिय गठबन्धनको विजय यात्रा निरन्तर जारी रहने उनीहरुको जिकिर छ।











