जिल्लाका गठबन्धनका दलसँग ‘प्रचण्ड’को भेट
चितवन, बैशाख १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन।नेपाली कांग्रेस र...
चितवन, बैशाख १३ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गृहजिल्ला चितवनका पाँच दलीय गठबन्धनका नेताहरूसँग भेट गरेका छन।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूसँग भेट गरेका हुन। छोटो समयका लागि यहाँ आएका दाहालले नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र भरतपुर महानगरपालिकाका उपप्रमुखका उम्मेदवारसमेत रहेका नगर सभापति चित्रसेन अधिकारीलाई भेट गरेका हुन।
उनले समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाललाई पनि भेट गरेका थिए। भेट पछि कांग्रेस सभापति खनालले गठबन्धनलाई सशक्त बनाएर अघि बढाउने विषयमा छलफल भएको बताए। दाहालले वडा तहसम्म मिलाएर लैजानुपर्नेमा जोड दिएका थिए। नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको प्रमुख पदमा वागी उम्मेदवारीको विषयमा पनि छलफल भएको जनाइएको छ।
खनालले भने, 'विस्तृत छलफल १६ गते पछि गर्ने विषयमा कुराकानी भएको छ।' दाहाललाई भेटेपछि बागमती प्रदेशका मन्त्रीसमेत रहेका समाजवादीका नेता कृष्ण खनालले आफूसँगको भेटमा दाहालले वडा तहसम्म मिलाउन र असन्तुष्टलाई सम्झाउन आग्रह गरेको बताए।
दाहालले चितवनमा रहँदा माओवादी केन्द्रका नेता कार्यकर्तासँग समेत भेटघाट गरेका थिए। दाहालको उपस्थितिमा पार्टीको निर्वाचनसँग सम्बन्धित योजना निर्माणका विषयमा छलफल भएको थियो। छलफलमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला र महानगरका पदाधिकारी सहभागी भएको पार्टीले जनाएको छ।











