स्वास्थ्योपचार गराइरहेका ६ खेलाडीलाई राखेपको आर्थिक सहयोग
काठमाडौं, वैशाख १३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग...
काठमाडौं, वैशाख १३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
मंगलबार कोषले ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई समान १ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको हो।
भलिबलकी रिया कुँवरले ६३ हजार ९ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमले ८७ हजार ९ सय १४, करातेकी कोपिला विष्टले ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीले ८० हजार प्राप्त गरे।
केसीलाई हातमा चोट, विष्णुलाई पक्षघात, रिया, सिमा र कोपिलालाई घोडामा चोट तथा दीपकलाई काँघको समस्या छ। कोषका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे। कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो।











