नेपालगञ्जको प्रमुखका लागि १८ जना मैदानमा, बुङगलकाे प्रमुखमा महिलाको उमेदवारी
नेपालगञ्ज, वैशाख १३ : आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका...
नेपालगञ्ज, वैशाख १३ : आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।
कोहलपुर नगरपालिकामा प्रमुखका लागि १५ र उपप्रमुखका लागि १० ले मनोनयन दर्ता गराउनुभएको छ । खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि ९ र उपाध्यक्ष पदका लागि ६, जानकी गाउँपालिकाकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ८ ले मनानयन दर्ता गर्नुभएको छ । डुडुवा गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
यस्तै जिल्लाको दुर्गम मानिने नरेनापुर गाउँपालिकाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको छ । बैजानाथ गाउँपालिकाको अध्यक्षको लागि ९ र उपाध्यक्षको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जानको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा ९एमाले०, राप्रपा, जनमोर्चा नेपाललगायत स्वतन्त्र रुपमा पनि उमेदवारी दर्ता भएको छ ।
वडाध्यक्षमा सबैभन्दा बढी ११ जना र कममा दुई जनाको उमेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आज उमेदवारी उपर उजुरी विरोधको कार्यक्रम रहेको जानकारी दिए।
बुङगल नगर प्रमुखमा महिलाको उमेदवारी
स्थानीय तहको निर्वाचन–२०७९ मा बझाङको बङ्गल नगरपालिका प्रमुख पदका लागि एक महिलाले उम्मेदवारी दर्ता गरेकी छन्।
नेकपा (एमाले)बाट बुङ्गल नगरमा धनदेवी कुँवरले उमेदवारी दर्ता गराएकी हुन् । कुँवर एमाले जिल्ला कमिटी सदस्य हुन् । उमेदवारी दर्तापश्चात कुँवरले अन्याय, असमानता र विभेद् रहित तथा महिला, बालमैत्री र वातावरणमैत्री नगर निमार्णका लागि आफ्नो उमेदवारी रहेको बताइन्।
“सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय–अत्याचारविरुद्ध, नगरलाई वातावरणमैत्री बनाउने विभिन्न योजना समेट्ने छु” उनले भनिन्। साथै कुँवरले नगरको समग्र विकास, विशेष गरी पिछडिएका वर्ग महिलाको उत्थानका लागि आफ्नो उमेदवारी रहेको बताइन्।
कुँवर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मीनादेवी बोहरा जाग्रीसँग ७७१ मतले उपप्रमुखमा पराजित भएकी थिइन् । नेकपा एमालेले बझाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पदमा महिलालाई अनिवार्य गरेको थियो ।











