ओलाङचुङगोलामा वडाध्यक्ष सहित सदस्य निर्विरोध निर्वाचित
ताप्लेजुङ, वैशाख १३ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा छेतेन वालुङ निर्विरोध निर्वाचित भएका छन्। वडाका सबै सदस्य पनि निर्विरोध भएका छन्।उम्मेदवारी दर्ता...
ताप्लेजुङ, वैशाख १३ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्षमा छेतेन वालुङ निर्विरोध निर्वाचित भएका छन्। वडाका सबै सदस्य पनि निर्विरोध भएका छन्।
उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। गत साता नै ओलाङचुङगोलाका बासिन्दाले सर्वसम्मत रुपमा फक्ताङलुङ गाउँपालिका–७ को वडाध्यक्ष चयन गरेका थिए। उनी नेकपा (एमाले) को तर्फबाट अध्यक्ष बनेका हुन्।
त्यस्तै, वडा सदस्यमा चारै जना नेपाली कांग्रेसबाट निर्विरोध निर्वाचित भएका छन्। चार सदस्यमा टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विक निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
गाउँलेहरूले चयन गरेका उम्मेदवारबाहेक वडामा अरु कोही पनि व्यक्तिको उम्मेदवारी नपरेसँगै अध्यक्षसहित निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए। गाउँलेहरूले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए।
ओलाङचुङगोला समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित हिमाली बस्ती हो। यस बस्तीमा जम्मा ५३ घरपरिवार बसोबास गर्दै आएका छन्। दुई सय ७७ मतदाता रहेको ओलाङगोलामा गाउँलेको आम भेलाबाट सर्वसम्मत अध्यक्ष चयन गरेको तेन्जिङ वालुङले बताए।
सर्वसम्मत वडाध्यक्ष वालुङ विसं २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए। यसपछि अल्पसङ्ख्यक कोटाबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए।
विसं २०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको जनाउँदै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका थिए। (रासस)











