स्थानीय तहको निर्वाचन : सामूहिक प्रदर्शनसँगै राजनीतिक उत्सव
काठमाडाैं, वैशाख १२ : 'यो मेरो र मेरो पार्टीको मात्रै उम्मेदवारी होइन, हाम्रो हो। म भन्ने कुरा त्यागौँ, हामी भन्ने कुरालाई आत्मसात गरौं,' कास्कीको...
काठमाडाैं, वैशाख १२ : 'यो मेरो र मेरो पार्टीको मात्रै उम्मेदवारी होइन, हाम्रो हो। म भन्ने कुरा त्यागौँ, हामी भन्ने कुरालाई आत्मसात गरौं,' कास्कीको पोखरा महानगरमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका धनराज आचार्यको भनाइ हो यो।
नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर आचार्यले सामूहिकतामा विश्वास गर्न तथा म र मेरो भन्ने मान्यता त्याग्न आग्रह गरे। उनले महानगरका लागि दिइएको उम्मेदवारी सत्तागठबन्धनको सामूहिक भावनाको उपज भएको बताए। आचार्य नेकपा (एकीकृत समाजवादी) को प्रस्तावमा गठबन्धनको साझा उम्मेदवार हुन्।
यसबाट सत्ता गठबन्धनमा देखिएका केही तितामिठा विषयलाई मिलाएर जानुपर्छ भन्ने मनोविज्ञान चित्रित भएको छ। गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले देशव्यापी रुपमा नै साझा उम्मेदवार तय गरेका छन्। केही स्थानमा कुरा मिल्न नसकेको भए पनि उम्मेदवारी फिर्ता लिने दिनसम्म सबै असन्तुष्टिलाई सम्बोधन गर्ने शीर्ष नेताहरुको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकले पनि केन्द्रीय नीतिअनुसार नै उम्मेदवारी दर्ता गराउन निर्देशन दिएको थियो। बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको निर्णयअनुसार नै उम्मेदवारी दर्ता गराउन सबैलाई आग्रह गरिएको जानकारी दिएका थिए।
निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी मनोनयनका लागि छुट्याएको छ। संविधानसभाबाट संविधान जारी भएपछि हुन लागेको दोस्रो निर्वाचन आफैँमा महत्वपूर्ण र ऐतिहासिक पनि छ। २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो। यही वैशाख ३० गते हुने निर्वाचन भने एकै चरणमा गर्ने तयारी आयोगले गरेको छ।
प्रमुख राजनीतिक दलले उत्साहका साथ निर्वाचनमा सहभागिता जनाएका छन्। उम्मेदवारी दर्ताका क्रममा देखिएको स्थानीय भाषा, संस्कृति तथा प्रचारले पनि त्यही देखाएको छ। काठमाडौँ उपत्यकामा उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारको स्वागतमा बजाइएका धिमे बाजा, स्थानीय संस्कृतिसँग जोडिएका भेषभूषासहितको प्रस्तुतीले पनि निर्वाचन लोकतन्त्रको सर्वोत्तम साधन हो भन्ने देखाएको छ। निर्वाचनले राजनीतिक दललाई मात्रै नभई, नागरिकलाई एक प्रकारको उत्साह पैदा गरिदिन्छ। यसपटक पनि त्यस्तै भएको छ।
काठमाडौँ महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुग्नुभएकी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहको अघिपछि बजेको धिमे बाजा, पञ्चेबाजाले पनि नेपालीको विविधतालाई झल्काइदिएको छ। भरतपुरमा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनुभएका रेणु दाहाल र उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीको समर्थनमा पनि पञ्चेबाजासहितको नेपाली संस्कृति र सामूहिकताको प्रदर्शन भएको टिप्पणी गरिएको छ।
देशभर ६ महानगर, ११ उपमहानगरपालिकासहित ७५३ वटै स्थानीय तहमा आज उम्मेवादी दर्ता गराउने अन्तिम दिन हो। गठबन्धनका तर्फबाट अधिकांश उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा सामूहिकताको प्रदर्शन गरेको देखिन्छ। गठबन्धनमा आबद्ध सबै दलका झण्डा, तुल व्यानर पनि त्यस्तै प्रदर्शन गरिएको थियो। गठबन्धनका दलबीच देखिएका विवादका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रमा यस्तो विषयले सुन्दरता नै थप्ने टिप्पणी गरे।
उनले गठबन्धनमा आबद्ध रहेका दलहरुबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएकोसमेत जानकारी दिनुभएको थियो। केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेको प्रवक्ता महराको भनाइ छ।
'एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन। यसमा आबद्ध सबै दलको एउटै धारणा छ। त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्छौ,' प्रवक्ता महराले भने। उनले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिँदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गरे।
एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्को रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उनले असन्तुस्टिलाई उचित तरिकाले सम्बोधन गरिने उल्लेख गरे।











