Kathmandu Press

गठबन्धन भर्सेज एमाले : ६ महानगरको नेतृत्व लिन प्रमुख दलका १२ उम्मेदवार मैदानमा

अन्य महानगरको तुलनामा काठमाडौंमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 
गठबन्धन भर्सेज एमाले : ६ महानगरको नेतृत्व लिन प्रमुख दलका १२ उम्मेदवार मैदानमा

काठमाडौं, वैशाख १२ : आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ महानगरमा उम्मेदवारको टुंगो लगाइसकेका छन्। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजेसम्मको समय तोकेको छ। 

असहमतिका बाबजुद करिब सबै महानगरपालिकामा गठबन्धनको केन्द्रीय संयन्त्रले ठाडो निर्देशनका आधारमा भागबन्डा लगाएको छ। 

गठबन्धन बीचको सहमतिअनुसार, कांग्रेसले ६ मध्ये तीन महानगरमा नेतृत्वका लागि उम्मेदवारी दिनेछ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी (जसपा)ले एक–एक महानगरको नेतृत्वका लागि उम्मेदवारी दिने भएका छन्। गठबन्धन दलले आ–आफ्ना भागमा परेका महानगरका लागि उम्मेदवारको टुंगो समेत लगाइसकेका छन्। 

Hardik ivf

गठबन्धनको प्रमुख दल कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयरका लागि मनोनयन दर्ता गरिसकेको छ। सोमबार बसेको कांग्रेसको संसदीय समिति बैठकले आफ्नो भागमा परेका सबै महानगरमा उम्मेदवारको टुंगो लगाएको थियो। माओवादी, एस र जसपाले यसअघि नै उम्मेदवार तोकिसकेको थिए। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सोमबार दिउँसोसम्म ६ वटै महानगरका लागि उम्मेदवार टुंग्याइसकेको छ। 

काठमाडौंमा हेभिवेट उम्मेदवार

यसपटक काठमाडौंमा गठबन्धन दल र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। मुलुककै धनी महानगरपालिका काठमाडौंमा प्रमुखका गठबन्धन दलबाट कांग्रेस नेतृ सिर्जना सिंहको उम्मेदवारी परेको छ। उनी कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन्। 

काठमाडौंका लागि एमालेबाट यसपटक केशव स्थापितले उम्मेदवारी दिएका छन्। उनले यसअघि नै काठमाडौंमा मेयरको अनुभव बटुलिसकेका छन्। 

यसअघि काठमाडौंको नेतृत्व एमालेले पाएको थियो। यतिखेर एमाले विभाजित भएकाले केशव स्थापित यसअघिका मेयर विद्यासुन्दर शाक्य जति सहज अवस्थामा भने छैनन्। एकीकृत समाजवादीले एमालेको भोट काट्ने पक्का छ। त्यसमाथि माओवादी केन्द्र, जनता समाजवादी पार्टीले पनि कांग्रेसलाई साथ दिँदा कांगे्रस नेतृ सिंहको सम्भावना बढी रहेको जानकार बताउँछन्। 

काठमाडौंका लागि यसपटक केही साना दल तथा एक स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारी दिएका छन्। राप्रपाले कलाकार कलाकार मदनदास श्रेष्ठलाई अघि सारेको छ भने अघिल्लोपटक सम्मानजनक मत पाएको विवकेशील साझाले समीक्षा बाँस्कोटालाई मेयरको उम्मेदवार बनाएको छ। 

यसपटक ¥यापर बालेन शाहले स्वतन्त्र रूपमा काठमाडौंको मेयरका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। यस हिसाबले अन्य महानगरको तुलनामा काठमाडौंमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

ललितपुरमा पुरानै अनुहार

ललितपुर महानगर नेतृत्वको प्रतिस्पर्धाका लागि यसअघि (०७४) कै दृश्य दोहोरिँदै छ। अघिल्लो निर्वाचनमा कांग्रेसबाट विजयी चिरिबाबु महर्जनको पुनः उम्मेदवारी परेको छ भने अघिल्लोपटक चिरिबाबुसँग पराजित हरिकृष्ण व्यञ्जनकार पुनः प्रतिस्पर्धामा उत्रिएका छन्। 

चिरिबाबु यसअघि गठबन्धनबिनै विजयी भएका थिए। यसपालि उनले गठबन्धनका माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत साथ पाउनेछन्। 

भरतपुरमा माओवादी भर्सेज एमाले 

भरतपुरको मेयरमा गठबन्धनबाट रेणु दाहालले पुनः उम्मेदवारी दिएकी छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणुसँग प्रतिस्पर्धाका लागि एमालेले विजय सुवेदीलाई अघि सारेको छ। 

अघिल्लो निर्वाचनमा रेणु दाहाल र एमालेकी देवी ज्ञवालीबीच कडा टक्कर भएको थियो। परिणाम ज्ञवालीको पक्षमा जाँदै गर्दा मतपत्र च्यातिएको आरोप माओवादीले अझै खेपिरहनुपरेको छ। यसअघि पनि रेणुलाई कांग्रेसको समर्थन थियो। यसपटक थप एकीकृत समाजवादी, जसपा र जनमोर्चाको समेत समर्थन उनलाई छ।

यसअघिकी रेणु र अहिलेकी रेणुमा भने धेरै फरक छ। अघिल्लोपटक प्रचण्डको विरासत लिएर चुनावमा होमिएकी रेणुले यसपटक आफ्नै पहिचान बनाइसकेकी छन्। पाँच वर्षभित्र भरतपुरमा रेनुले प्रशंसनीय काम गरेको बताइन्छ। त्यसकारण अघिल्लोपटक भन्दा सहज अवस्थामा उनी रहेको जानकार बताउँछन्। 

भरतपुरमा कांग्रेसका असन्तुष्ट पक्षले स्वतन्त्र उम्मेदवारी दिएको भए पनि पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेणुलाई मतदान गर्न कांग्रेसी जनलाई निर्देशन दिएका छन्। 

विराटनगर 

विराटनगरको प्रमुखका लागि गठबन्धनबाट उम्मेदवारी कांग्रेसले दिएको छ। कांग्रेसका नागेश कोइरालाले मेयरका लागि टिकट पाएका छन्। यहाँ एमालेले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ। कोइरालालाई माओवादी केन्द्र र जसपाको समर्थन भएका कारण थापा केही दबाबमा हुनेछन्। 

पोखरा : एमाले भर्सेज एकीकृत समाजवादी

चर्को रस्साकस्सीपछि गठबन्धन दलबाट कास्कीको पोखरा महानगरपालिकाको मेयरका लागि एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएका छन्। एमालेले कृष्णबहादुर थापालाई मेयरमा अघि सारेको छ। 

पोखरामा एकीकृत समाजवादीको कमजोर संगठन गठबन्धनको दुर्बल पक्ष हुन सक्ने आकलन गरिएको छ। यहाँको नेतृत्व एकीकृत समाजवादीलाई दिने केन्द्रको निर्णयप्रति कांग्रेसको पोखरा महानगर समितिले असन्तुष्टि व्यक्त गरिसकेको छ। कांग्रेसको सबल संगठन र बलियो दाबीलाई नजर अन्दाज गरिएको उनीहरुको गुनासो छ। तथापि गठबन्धनको केन्द्रीय निर्देशन विपरीत कार्यकर्ता नगएको खण्डमा एमालेलाई भारी पर्ने आकलन गरिएको छ। 

वीरगन्ज : सरावगीको विरासत गठबन्धनको तगारो 

वीरगन्ज महानगरपालिकाको मेयरका लागि एमालेबाट विजय सरावगी पुनः उम्मेदवार बनेका छन्। यसअघि यहाँको नेतृत्व गरिसकेका सरावगीसँग गठबन्धनबाट जसपाका राजेशमान सिंह मैदानमा छन्। 

जसपाबाटै एमाले प्रवेश गरी महानगरको उम्मेदवार बनेका सरावगीले जसपाको अत्यधिक मत आफ्नो पक्षमा पार्ने आकलन गरिएको छ। गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह पनि मेयरको टिकट पाउने भएपछि महिना दिनअघि मात्रै जसपा प्रवेश गरेका थिए। सिंह मधेस आन्दोलनका ‘फ्रन्ट लाइनर’मध्ये एक हुन्। 
 

प्रकाशित मिति: १७:५० बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्