नेपालगन्ज मेयरमा एमालेबाट मिश्र र उपमेयरमा ढकालकाे उम्मेदवारी
नेपालगन्ज, वैशाख १२ : नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका मेयरका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका छन्। उनीहरु...
नेपालगन्ज, वैशाख १२ : नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका मेयरका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका छन्। उनीहरु दुवै एमालेका केन्द्रीय सदस्य हुन्।
त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले मेयरर उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराएका छन्। दुवै पार्टीले आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
उपमहानगरपालिकाको २३ वटै वडामा एमाले र कांग्रेसले वडाध्यक्ष र सदस्यको मनोनयन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।
जिल्लाको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट पूर्णप्रसाद आचार्य र उपप्रमुखमा सङ्गीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी एमालेका तर्फबाट प्रमुख पदमा खीलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारुले मनोनयन दर्ता गराएका छन्।
खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेका तर्फबाट सुमन मल्लले मनोनयन गराएका छन्। उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको एकल उम्मेदवारी दिने भनिए पनि अझै उम्मेदवारको टुंगाे नलागेको बताइएको छ।
अन्य केही स्थानीय तहमा माओवादीले गठबन्धनसहित उम्मेदवारी दिएका छन्। बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तह रहेको छ।











