यस्ताे छ काठमाडाैं महानगर उम्मेदवार सिर्जना सिंहकाे राजनीतिक इतिहास
लामो समय राजनीतिको ‘फ्रन्टलाइन’मा नदेखिएकी उनी नेपाली कांग्रेसको केही समयअघि सम्पन्न १४औं महाधिवेशनबाट सक्रिय हुन थालेकी हुन्।
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग विवाह गर्नुअघि नै आफू राजनीतिमा आएको बताएकी छन्।
गठबन्धनका तर्फबाट उम्मेदवारी दिन राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका बेला उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सिंहसँग मात्रै जोडेर आफूलाई नहेर्न आग्रह गरिन्।
आफूले पनि लामो समयदेखि प्रजातन्त्र र गणतन्त्रका लागि संघर्ष गरेको स्पष्ट पारिन्। सोही अवसरमा उनले मेयरमा विजयी भए आफूले प्राथमिकता दिने योजनाबारे पनि केही धारणा राखिन्।
उनले काठमाडौं सहरलाई सफा र व्यवस्थित बनाउन काम गर्ने बताइन्। केन्द्रीय राजधानी भए पनि महिलालाई दुःख रहेको बताउँदै उनले मेयर भएपछि विपन्न तहका गृहणी महिलालाई भत्ताको व्यवस्था गर्ने बताइन्।
राजनीतिक इतिहास
लामो समय राजनीतिको ‘फ्रन्टलाइन’मा नदेखिएकी उनी नेपाली कांग्रेसको केही समयअघि सम्पन्न १४औं महाधिवेशनबाट सक्रिय हुन थालेकी हुन्। साे महाधिवेशनमा उनी काठमाडौं-७ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बनेकी थिइन्।
सिर्जना पार्टीमा पहिल्यैदेखि सक्रिय रहेको उनको राजनीतिक इतिहासले देखाउँछ। गोरखामा जन्मिएकी उनी २०३३ सालमा कक्षा ९ मा पढ्दा नै श्यामकुमार श्रेष्ठको हातबाट सदस्यता लिएर कांग्रेस राजनीतिमा जोडिएकी हुन्।
२०३४ सालमा एसएलसी दिएर काठमाडौं आएकी उनले महाबौद्ध क्याम्पसमा अध्ययन गर्दा नेविसंघमा क्रियाशील थिइन्। त्यहाँ उनी नेविसंघ क्याम्पस एकाइ सभापति पनि बनेकी थिइन्।
सानैदेखि राजनीतिमा चासो राख्ने उनी १७ वर्षको उमेरमै महिला संघ गोरखाकी अध्यक्षसमेत बनेकी थिइन्।
महाबौद्धपछि शंकरदेव क्याम्पसमा पढ्ने क्रममा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघबाट कोषाध्यक्ष सिर्जनाले तत्कालीन अखिलमा सक्रिय र हाल ऊर्जामन्त्री रहेकी पम्फा भुसाललाई पराजित गरेकी थिइन्।
राजनीतिमा सक्रिय रहेकै बेला कांग्रेस नेता नवीन्द्रराज जोशीका माध्यमले प्रकाशमानसिंहसँग सिर्जनाको सुरुमा चिनजान र विवाह हुन पुगेको थियो। प्रकाशमान र सिर्जनाबीच २०४२ ािलमा विवाह भएको थियो।
विवाहपछि उनले राजनीतिमा सक्रिय हुन पाइनन्। उनी पति राजनीतिमा सक्रिय रहेका र चाक्सीबारीस्थित निवासमा नेताहरुको आगमन भइरहने भएका कारण राजनीतिलाई नजिकबाट नियाल्ने अवसर भने पाइरहिन्।
त्यसो भएकै कारण सिर्जनालाई २०५० सालमा नेपाल महिला संघ काठमाडौं जिल्ला सल्लाहकार बनाइएको थियो, जुन अहिलेसम्म पनि कायमै छ।
गत चैत १४ गते महिला संघ काठमाडौंले सिर्जना सिंहलाई मेयरमा उठ्न अनुरोध गरेको थियो। महिला संघले नै पार्टीमा लबिइङ गर्ने निर्णय पनि गर्यो। सोही निर्णयका कारण पार्टी ठूलो छलफल र बहसपछि उनी अहिले मेयर उम्मेदवार बन्न सफल भएकी छन्।
एमालेका उम्मेदवार केशव स्थापितसँग उनको दह्रो प्रतिस्पर्धा हुने भएको छ।











