कैलालीमा गठबन्धनबीच भागबण्डा मिल्यो
धनगढी, वैशाख १२ : धनगढी उपमहानगरपालिकाबाहेका स्थानीय तहमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलको सहमति गरेको छ।राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)सँग...
धनगढी, वैशाख १२ : धनगढी उपमहानगरपालिकाबाहेका स्थानीय तहमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलको सहमति गरेको छ।
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)सँग वडा तहमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिकामा तालमेल गरेका हुन्। धनगढी उपमहानगरमा भने केन्द्रबाटै तालमेल भएको थियो।
गएराति भएको तालमेलको सहमतिअनुसार, कैलालीका १२ स्थानीय तहमध्ये कांग्रेसले ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख, माओवादीले ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख तथा एकीकृत समाजवादीले २ पालिका प्रमुख र एक पालिका उपप्रमुखमा उम्मेदवार उठाउनेछन्।
गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउनेछ। गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ।
यसैगरी, गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादीले प्रमुख पाएको छ भने चुरे र घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीले प्रमुख पाएको छ।












