Kathmandu Press

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै, साँझ ५ बजेसम्म समय

स्थानीय तह निर्वाचनका लागि ठूला राजनीतिक दलले आज उम्मेदवारी दर्ता गर्दै छन्।
ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै, साँझ ५ बजेसम्म समय

काठमाडौं, वैशाख १२ : स्थानीय तह निर्वाचनका लागि ठूला राजनीतिक दलले आज उम्मेदवारी दर्ता गर्दै छन्।

वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

आज दोस्रो दिन ठूला दलले उम्मेदवारी दर्ता गर्ने भएका छन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।

निर्वाचन आयोगका अनुसार पहिलो दिन देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन्।

जसमध्ये गाउँपालिका अध्यक्ष र नगरपालिका मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी दिएका छन्।

त्यस्तै, वडाध्यक्षमा दुई हजार ९२१, वडा सदस्यमा तीन हजार ३३८, महिला सदस्यमा एक हजार ५७६, दलित महिला सदस्यमा एक हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। उम्मेदवारी दिनेमध्ये तीन हजार ५०६ जना महिला छन्।

आज साँझ ५ बजेपछि उम्मेदवारको मनोनयनको सूची प्रकाशन गरिने भएको छ। मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ।

त्यसपछि वैशाख १४ र १५ गते दाबी विरोधमाथि जाँचबुझ गर्ने र वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। वैशाख १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्