गणेशमान सिंह स्मृति बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

काठमाडौं, वैशाख ९ : गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफ क्लबका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। दुवै जनाले पुरुष ५७ किलो तौल समूहमा प्रतिद्वन्द्वीलाई उछिन्दै सेमिफाइनलको यात्रा तय गरेका हुन्।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा कुमालले मधेश प्रदेशका अमन अली तथा राईले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरेका हुन् । पुरुष ५२ किलोमा मधेसका मदनकृष्ण डङ्गोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफ क्लबका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनल प्रवेश गरे।
यस्तै पुरुष ६३ किलोतर्फ नेपाली सेनाका पुरन सुनुवारले बागमतीका मौसम राना मगरलाई तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ किलोतर्फ सेनाका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई हराए । सोही तौल समूहमा बागमतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाएर सेमिफाइनल प्रवेश गरे ।
यसैगरी पुरुष ७५ किलोमा कर्णालीका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए । पुरुष ८१ किलोमा बागमतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता सेमिफाइनलमा प्रवेश गरेका छन् । स्याङ्तानले मधेशका किरण लामा तथा महताले गण्डकीका मनिष बिसीलाई हराए । पुरुष ९१ किलोतर्फ आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्टलाई तथा प्रदेश १ का प्रसिश रुचालले बागमतीका उमङ्ग महर्जनलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरे ।
यस्तै महिला ५१ किलोमा आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनल प्रवेश गरेका छन् । गुरुङले बागमतीकी अस्मिता दुवाल तथा केसीले सुदूरपश्चिमकी सोनिया सेठ्ठीलाई हराइन् । महिला ५७ केजीतर्फ नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्कालाई तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गरिन् । दुवै जना सेमिफाइनल प्रवेश गरेका छन् ।
यसैगरी महिला ६० किलोतर्फ एपीएफ क्लबकी सङ्गीता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउँदै सेमिफाइनल पुगिन् । महिला ६९ किलोतर्फ लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी छिन्।











