युनाइटेडमाथि लिभरपुलको सानदार जित, सिटीले ब्राइटनलाई हरायो
काठमाडौं, वैशाख ८ : इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई टिम म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन्।मिडविकमा भएको खेलमा शीर्ष स्थानको...
काठमाडौं, वैशाख ८ : इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेका दुई टिम म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन्।
मिडविकमा भएको खेलमा शीर्ष स्थानको सिटीले ब्राइटनमाथि ३–१ को जित निकाल्दा लिभरपुलले म्यान्चेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकाल्यो।
गएराति एन्डफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले २ गोल गरे भने लुइस डियाज र साडियो मानले एक-एक गोल गरे। लिभरपुलले दुवै हाफमा समान १ गोल गरेको थियो।
खेलको पाँचौँ मिनेटमै लुइस डियाजको गोलमा लिभरपुले अग्रता लियो। २२औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा पनि २ गोल थप्यो। खेलको ६८औं मिनेटमा माने र ८५औं मिनेटमा सलाहले नै गोल गरेपछि लिभरपुलले ४–० को सहज जित निकाल्यो।
यता, शीर्ष स्थानको सिटीले पनि घरेलु मैदानमा ब्राइटनमाथि ३–० को सहज जित निकाल्यो। सिटीको जितमा रियाद महारेज, फिल फोडेन र बर्नार्डो सिल्भाले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३औं मिनेटमा महारेजले सिटीलाई अग्रता दिलाए। ६२औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए। ८२औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले सहज जित निकाल्यो।
जितपछि सिटीले शीर्ष स्थानमा १ अंकको अग्रता कायमै राखेको छ। ३२ खेलमा सिटीको ७७ अंक छ भने लिभरपुलको ७६ अंक छ। ब्राइटन ४० अंकसहित १०औं स्थानमा छ भने युनाइटेड ५४ अंकसहित छैठाैँ स्थानमा छ।











