सुरु भयाे गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता

काठमाडौं, वैशाख ६ : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सुरु प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ।
काठमाडौंको वसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरे। सो क्रममा नेता सिंहले खेल र खेलाडीको विकासका लागि वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले निरन्तर काम गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी महिलातर्फ ४८, ५४-५७, ६०, ६४-६९, ६९-७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन्। यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन्।











