नेपालमा चीनियाँ सहयोग अझ बढ्ने प्रचण्डको विश्वास
काठमाडौं, असोज २६ः चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा चिन....

काठमाडौं, असोज २६ः चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।
प्रचण्डको निजी सचिवालयले दिएको जानकारीअनुसार, आइतबार बिहानसाढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे छलफल भएको थियो ।
भेटवार्ताका क्रममा प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यस पछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरेका थिए । उनले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका थिए ।
प्रचण्डले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुस भएको बताउँदै भने, ‘दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बढ्छौँ ।’
प्रचण्डले आफू प्रधानमन्त्री छँदा बिआरआईमा हस्ताक्षर गरेको स्मरण गराउँदै त्यसबाट नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको बताएका थिए । उनले दुवै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीव्र कार्यान्वयनमा जोड दिनुपर्ने पनि बताए । उनले भने, ‘विकासबिना राजनैतिक स्थायित्व हासिल गर्न सकिँदैन । समृद्ध चीन नेपालका लागि अवसर हो ।’
भेटवार्तामा चीनियाँ राष्ट्रपति सी जिनपिङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रचण्डको सचिवालयका अनुसार, चीनियाँ राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाली ’अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
राष्ट्रपति सीले भनेका थिए, ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ ।’ उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउनुहुँदै यसलाई अझै मजबुत बनाउनुपर्ने मा पनि जोड दिए ।
राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीचको भेटमा पार्टीका सचिवालय सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।










