Kathmandu Press

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल

खनालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता भएको बताए।
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौती देखिएको छ : झलनाथ खनाल

काठमाडौं, साउन ७ : नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र तथा संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न चुनौती देखिएको बताएका छन्।

बिहीबार ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले सही क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताए। 

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन्। यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सबै भन्दा पहिले सहि क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन, रुपान्तरण र एकतावद्ध बनाउनु जरुरी छ,’ उनले भने। 

पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा संस्थापक नेताका रूपमा स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका लागि स्पष्ट वैचारिक मार्गनिर्देशन गर्ने नेता भएको बताए। उनले पुष्पलालकै मार्गदर्शनअनुसार अघि बढ्दा नेपालमा जनवादी क्रान्ति सफल भएको, संविधानसभामार्फत संविधान निर्माण भएको तथा समाजवादी रूपान्तरणको आधार तयार भएको दाबी गरे। 

खनालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता भएको बताए।

‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता बनेको छ,’ उनले भने।

उनले राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समृद्धि तथा नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालप्रति उच्च सम्मान व्यक्त गरे। उनले पुष्पलालको ऐतिहासिक योगदानकै कारण नेपाली कम्युनिष्ट आन्दोलन आजको उचाइमा पुगेको उल्लेख गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, साउन ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्