Kathmandu Press

नयाँ पुस्तालाई सही संस्कार दिनुपर्नेमा माधवकुमार नेपालको जोड

‘हामी सबैले गम्भीर हुनुपर्छ। यो देशका प्रत्येक नागरिक गम्भीर हुनुपर्छ । सामाजिक अभियन्ताहरू, राजनीतिककर्मीहरू र एउटा देशभक्त नागरिक पनि गम्भीर हुनुपर्छ,’ उनले भने ।
नयाँ पुस्तालाई सही संस्कार दिनुपर्नेमा माधवकुमार नेपालको जोड

काठमाडौं, साउन ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले नयाँ पुस्तालाई सही संस्कार र संस्कृति दिनुपर्नेमा जोड दिएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले ‘जेनजी आन्दोलन’ नयाँ पुस्तालाई कस्तो संस्कार र संस्कृति दिइरहेका छौँ भन्ने कुराको उदाहरण बनेको टिप्पणी गरे ।

‘कस्तो संस्कार, कस्तो संस्कृति हामीले नयाँ पुस्तालाई दिइरहेका छौँ भन्ने कुराको एउटा उदाहरण बन्न पुगेको छ जेनजी आन्दोलन । यस्तो आन्दोलनको निम्ति अगुवाइ गर्ने, आह्वान गर्ने व्यक्ति तथा परिवर्तनका संवाहकहरूले कहिल्यै पनि राज्यका सम्पत्तिमा विध्वंस मच्चाउने वा गौरवशाली व्यक्तित्वहरूको अपमान हुने अवस्थाको कल्पना गरेका थिएनन्,’ उनले भने।

नेपालले पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, तुल्सीलाल अमात्य, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका राष्ट्रिय व्यक्तित्वहरूको सम्मान गर्नुपर्ने उल्लेख गरे।

‘आफ्ना गौरवशाली व्यक्तित्वहरु चाहे पुष्पलाल हुनुहोस्, चाहे हिजो मात्रै स्मृति दिवस मनाइएका वीपी कोइराला होस्, चाहे मदन भण्डारीको होस्, चाहे तुल्सीलाल अमात्यको होस्, चाहे अरु कुनै नेताहरु गणेशमान, कृष्णप्रसाद भट्टराई लगायत त्यस्ता व्यक्तित्व जोसुकै होस् । त्यस्ता व्यक्तिहरूलाई कदर गर्नुपर्ने हो । विश्वसामु शिर ठाडो पारेर उभिने दिशामा अगाडि बढ्नुपर्ने हो । तर के देख्नुपर्याे, के भोग्नुपर्यो भन्ने पनि लाग्दछ,’ उनले भने ।

उनले नयाँ पुस्ताको गुनासोलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘नयाँ पुस्ताको हामीप्रति कुनै गुनासो छ भने त्यसलाई एक, दुई, तीन, चार भनेर अमूर्त रूपमा टारेर हुँदैन । भ्रष्टाचार भएका छन् भने त्यसलाई कसरी रोक्ने, दोषीलाई कसरी दण्डित गर्ने, देश विकासको सोच कसरी विकास गर्ने, सुशासनको प्रत्याभूति कसरी दिने, जनताको पीडा र वेदनासँग कसरी जोडिने, गरिबी, अभाव र बेरोजगारीबाट जनतालाई कसरी मुक्त गर्ने भन्ने विषयमा ठोस योजनाका साथ अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले सबैलाई एउटै दृष्टिकोणबाट हेर्ने प्रवृत्ति उचित नभएको पनि बताए । ‘कति काम भयो, कति भएन भन्ने वस्तुगत मूल्यांकन हुनुपर्छ । अमूर्त रूपमा सबैलाई उस्तै भन्ने कामको कुनै अर्थ छैन,’ उनले भने ।

यसैगरी नेपालले देशका सबै नागरिक गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए । उनले सामाजिक अभियन्ता, राजनीतिककर्मी तथा देशभक्त नागरिक सबैले देशको वर्तमान अवस्थाप्रति जिम्मेवार बन्नुपर्ने बताए ।

‘हामी सबैले गम्भीर हुनुपर्छ। यो देशका प्रत्येक नागरिक गम्भीर हुनुपर्छ । सामाजिक अभियन्ताहरू, राजनीतिककर्मीहरू र एउटा देशभक्त नागरिक पनि गम्भीर हुनुपर्छ,’ उनले भने ।

 

प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, साउन ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्