एसियन कप : राष्ट्रिय फुटबल टिमकाे आजबाट प्रशिक्षण सुरु
काठमाडाैं, वैशाख १ : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ।नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण...
काठमाडाैं, वैशाख १ : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ।
नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन्।
प्रशिक्षक अल्मुताइरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौति रहेको बताए। दक्षिण एसियाली खेल्ने राष्ट्रलाई एसिया कप खेल्ने कुरा ठूलै भएको बताउँदै नेपाल र एसियाकपको स्तर निकै फरक हुने पनि उल्लेख गरे।
अझै नेपाली फुटबलको स्तर सुधार गर्नका लागि धेरै बाँकी रहेको बताउँदै केही हदसम्म आशावादी भने रहेको उनले बताए। उनले अहिलेको अवस्थामा फुटबलको विकासका लागि तलबाटै फोकस हुनुपर्नेमा नेपालमा त्यस्तो हुन नसकेको जिकिर गरे।
छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुनेछन्। छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ। नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ। नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।











