टी–२० विश्व वरियता : अलराउन्डरतर्फ शीर्ष दस खेलाडीमा परे दिपेन्द्र
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको वरियतामा अलराउन्डर विधामा दिपेन्द्र शीर्ष १० खेलाडीभित्र पर्न सफल भएका हुन्।
काठमाडौं, चैत ३० : नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरि टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको शीर्ष १० अलराउन्डरभित्र पर्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको वरियतामा अलराउन्डर विधामा दिपेन्द्र शीर्ष १० खेलाडीभित्र पर्न सफल भएका हुन्।
अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाभी छन् । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः वंगलादेशका शकिब अल हसन र इंग्ल्याण्डका मोइन अली छन्।
दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज घोषित भएका थिए ।उनले मलेसिया र पपुवा न्युगिनी (पीएनजी) विरुद्धको सिरिजमा २ अर्धशतक र १ शतक प्रहार गरेका थिए ।
ब्याटिङ वरियतामा भने उनी ३८ औं स्थानमा छन् । ब्याटिङ वरीयतामा दिपेन्द्रभन्दा अघि कुशल भुर्तेल छन् । उनी ३६ औं स्थानमा रहेका छन् भने आसिफ शेख ९९ औं स्थानमा छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ३८ औं र अविनास बोहरा ८६ औं स्थानमा रहेका छन् ।











