नयाँ वर्षको दिन दमकमा नेपथ्यको कन्सर्ट, टिकटको मूल्य एक हजार
काठमाडौं, चैत २५ : चर्चित नेपाली ब्याण्ड ‘नेपथ्य’ले नयाँ वर्षका दिन दर्शकमाझ आफ्नो प्रस्तुती देखाउने भएको छ। कोरोना प्रकोप कम हुँदै गएको अवस्थामा...
काठमाडौं, चैत २५ : चर्चित नेपाली ब्याण्ड ‘नेपथ्य’ले नयाँ वर्षका दिन दर्शकमाझ आफ्नो प्रस्तुती देखाउने भएको छ। कोरोना प्रकोप कम हुँदै गएको अवस्थामा नेपथ्य पुनः प्रत्यक्ष सांगितिक यात्रामा अग्रसर भएको हो।
आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ।दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक उभिने भएको छ । यसभन्दा पहिले पनि नेपथ्यले यसै मैदानमा चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा सांगितिक कार्यक्रम गरेको थियो।
दमकको खुला चौरमा कन्सर्ट गर्नुअघि नेपथ्यले उक्त सहरका सिनेमाहलमा तीनवटा कन्सर्ट गरिसकेको छ। वैशाख १ गते हुने कन्सर्टका लागि नेपथ्यले आफ्नो तयारी तीव्र बनाएको छ। वाद्यवाधन र मञ्चका लागि आवश्यक सामाग्री काठमाडौंदेखि दमक पुर्याइसकिएको ब्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले बताए। ‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ ।’
यसअघि दमकमा नेपथ्यकै कन्सर्टमा धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले उपस्थित भएका थिए। दमकमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुनेछ ।
कोरोना भाइरसले उसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो । २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुती बन्न पुग्यो।

यसपटक को नेपथ्य कार्यक्रम दुइ बर्ष पछिको अन्तराल मा हुदैछ ।‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दैगएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्वन्ध अझ खुल्दै गए ।’
नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ । उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालीक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतीको तयारी पनि अघि बढिरहेको छ ।
दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन् ।
कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ। अनलाईनबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ।
नयाँ वर्षको दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिने बताइएको छ।












