एउटा बालक किन भन्दैछ : ‘मेरो दिमाग कहाँ गयो ?’
बालबालिकाको विषयमा अभिभावकसँगै जोकोही संवेदनशील हुन जरुरी छ। उनीहरूको अगाडि के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने सबैले बुझ्नुपर्छ।काठमाडाैं, चैत २३ : ‘मेरो दिमाग कहाँ गयो ?’ हातमा सिसा कलम लिई सानो कुर्सीमा बसिरहेका एक बालक रोइरहेका छन्। उनको अगाडि टेबलमा कापी र उनका लागि खाजा पनि देखिन्छ।
अभिभावकको आवाज आउँछ- के भयो ?
बालक (रुँदै) : मेरो दिमाग...।
अभिभावक : के भयो दिमागलाई ?
बालक (रुँदै) : दिमाग कहाँ गयो ? मेरो दिमाग कहाँ गयो ?
अभिभावक : नरोईकन सोच्नुस् त आउँछ।
बालक (रुँदै) : दिमाग छैन।
अभिभावक : कहाँ गयो हजुरको दिमाग ?
बालक (रुँदै) : कहाँ गयो, थाहा छैन मलाई के थाहा, कहाँ गयो !
अभिभावक : बाहिर गेम खेल्न गयो होला नि !
बालक : दिमाग छैन मेरो...।
यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोको संवाद र दृश्य हो यो। जसमा होमवर्क गर्न नआएपछि बालक ‘मेरो दिमाग कहाँ गयो? भन्दै रोइरहेका छन्। अभिभावकले सिकाइदिन्छु भन्दा पनि बालकले आफैँ गर्नुपर्ने बाध्यता रहेको आसय व्यक्त गर्छन्।
अधिकांशले यो भिडियोलाई हाँसो–ठट्टाको रूपमा लिएर प्रतिक्रिया जनाएको देखिन्छ। अलिकति संवदेनशील भएर हेर्ने हो भने यस भिडियोमा शिक्षा र सिकाइका नाममा परिवार र विद्यालयले एउटा अबोध बालकलाई दिएको ‘तनाव’ झल्कन्छ। बालकको अबोधपन देखेर धेरैलाई माया लाग्न पनि सक्छ।
‘सिक्नैपर्छ’ भन्ने खालको दबाब र तनाव दिँदा बालकलाई मानसिक रूपमा कस्तो असर पर्न सक्ला ? प्रस्तुत छ, यसै सम्बन्धमा मनोविद् करुणा कुँवरसँग काठमाडौं प्रेसकर्मी सोनी शाहीले गरेको वार्ताको सम्पादित अंश (उनकै शब्दमा):
‘तेरो दिमाग छैन कि क्या हो’
टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा अहिले भिडियो राख्ने क्रम बढेको छ। बालबालिकालाई लिएर बनाइएका कतिपय भिडियो मैले हेर्ने गर्छु।
बालबालिकाले सामान्यतः ठूला मानिसबाटै विभिन्न कुरा सिक्छन्। बालबालिकाको पहिलो पाठशाला घर हो। त्यसपछि बालबालिकाले विद्यालयमा शिक्षक र आफ्ना साथीहरूबाट सिक्ने गर्छन्। उनीहरूले अरुबाट जे सिक्छन्, त्यही व्यक्त गर्छन्। कतिपय अवस्थामा अभिभावक वा ठूला मानिसले भनेका कुराले बालबालिकाको मस्तिष्कमा गहिरो असर पारेको हुन्छ। बालबालिकामाथि एक खालको विश्वास पैदा गर्ने काम परिवार र विद्यालयबाटै हुने हो। यो भिडियोमा पनि यस्तै देखिएको छ।
हामीले सामान्यतः कसैलाई केही कुरा गर्न आएन भने ‘तेरो दिमाग छैन कि क्या हो’ भन्ने गर्छौं। कुनै बच्चाले यस्ता कुरालाई शाब्दिक रूपमा मात्र बुझेको हुन्छ। भिडियोमा रोइरहेको बच्चाले पनि शाब्दिक रूपमा मात्र बुझेको जस्तो देखिन्छ।
उक्त भिडियोलाई ध्यान दिएर हेर्ने हो भने त्यो बच्चालाई धेरै नै चोट पुगेको देखिन्छ। उसलाई सायद केही पढ्नैपर्ने वा होमवर्क गर्नैपर्ने थियो, तर उसलाई त्यो काम आएन। आफूलाई नआएपछि आफ्नो दिमाग साँच्चै रहेनछ भन्ने उसमा विश्वास पैदा भएको जस्तो देखिन्छ। बच्चाले भनेका कुरा रमाइलो लागेर अभिभावकले भिडियो बनाएको बुझिन्छ। तर, बच्चाका यस्ता साना कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने थियो।
जोकोही बच्चाले आफूलाई केही असहज भएको वा लागेको कुरा व्यक्त गर्छ भने उसमा त्यो विश्वास कहाँबाट पैदा भयो, केबाट सिकिरहेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ। अचेल चर्चा बटुल्ने उद्देश्यले बालबालिकाका समस्यालाई भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेको पाइन्छ।
बालबालिकालाई पर्ने असर
वयष्क र बालबालिकाले सोच्ने दृष्टिकोण फरक हुन्छ। एउटी आमालाई अरुले आफ्नो बच्चाका बारे कुरा गरेको, कमेन्ट गरेको मन पर्ला तर बच्चालाई मन नपर्न सक्छ। आफूमाथि बनाइएका यस्ता भिडियोकै कारण बच्चालाई अरुले जिस्काउन सक्छन्। अरुले जिस्क्याएको बच्चालाई मन नपर्न सक्छ, अथवा उसलाई लाज लाग्न सक्छ। यसले बच्चामा लामो समयसम्म असर पार्न सक्छ, जुन कुरा आमाबुबाले बुझेका हुँदैनन्।
बालबालिकाको विषयमा अभिभावकसँगै जोकोही संवेदनशील हुन जरुरी छ। उनीहरूको अगाडि के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने सबैले बुझ्नुपर्छ। सानो छँदा बुबाआमाले भनेका कुरा हामी कतिपयको सम्झनामा अझै हुन सक्छन्। केही कुरा पटक–पटक भनिरहँदा त्यसले हाम्रो मन–मस्तिष्कमा गहिरो छाप छाडेको हुन्छ।
अहिले कतिपय अभिभावकले आफ्नो पेसा वा जागिरका कारण बालबालिकालाई समय दिन सकिरहेका छैनन्। त्यसै कारण धेरैले ‘डे–बोडर’ राख्ने, विद्यालयमा चाँडै पु¥याउने र ढिला लिन जाने लगायत क्रियाकलाप पनि देखिएका छन्। यसो गर्दा बालबालिकाले धेरै समय अभिभावकसँग बिताउन पाउँदैनन्। अभिभावकमा पनि विद्यालयमा धेरै समय बिताउँदा धेरै कुरा सिक्छन् भन्ने सोच छ।
यसले बालबालिकाको मस्तिष्कमा असर पारेको हुन्छ। कतिपय विद्यालयमा बालबालिकालाई खुवाउने, पढाउने, होमवर्क समेत गराउने र घरमा सुत्न मात्र पठाउने व्यवस्था पनि छ। यसले बालबालिका र अभिभावकबीच एउटा दूरी वा अलगाव पैदा गर्छ। बालबालिका घर हुँदा पनि व्यस्तताका कारण अभिभावकले उनीहरुलाई समय दिन पाउँदैनन्।
बच्चालाई ‘डे–बोडर’ वा होस्टेलमा राख्दा एक प्रकारले अभिभावकलाई सामाजिक रूपमा सहज होला, तर बालबालिकाको शैक्षिक, सामाजिक र भावनात्मक विकास सम्बन्धमा थाहा नहुन सक्छ। अधिकांश बालबालिकाले कक्षा १० सम्म एकै खालको वातावरण पाउँछन्, तर कक्षा १० पछि उनीहरूले एकैचोटि छुट्टै वातावरण वा परिवर्तन पाउँछन्। यही समयमा कतिपय किशोरकिशोरी गलत बाटोमा हिँडेको पनि पाइन्छ। अनि मात्र कतिपय अभिभावकले आफ्नो बच्चालाई पहिले टाइम दिनुपर्ने थियो भनेर बुझ्छन्। जबकि ढिला भइसकेको हुन्छ।
मैले केही दिनअघि एउटी १८ वर्षकी किशोरीको केस हेरेकी थिएँ। उनलाई सानोमा होस्टलमा राखेर पढाइएको रहेछ। घरमा बस्न नरुचाउने, अभिभावकसँग राम्रोसँग नबोल्ने, टाढिन खोज्ने, एक्लै कोठा बन्द गरेर बस्ने लगायत समस्या किशोरीमा देखिएको रहेछ।
यसमा ती किशोरीको कुनै गल्ती छ जस्तो मलाई लाग्दैन। उनले सानोमा अभिभावकबाट समय पाइनन्, त्यस कारण अहिले उनले आफ्ना लागि आफैँले सहज वातावरण सिर्जना गर्न थालिन्। अहिले उनी त्यो सहज वातावरणबाट निस्कन चाहँदिनन्। धेरै परिवारमा अहिले यस्तो समस्या देखिएको छ।
पढाइको प्रेसर
अहिले विद्यालयले सैद्धान्तिक ज्ञानमा मात्र बढी जोड दिँदा धेरै बच्चामा पढाइप्रति एक खालको तनाव (प्रेसर) उत्पन्न भएको पाइन्छ। पढाइकै कारण बच्चाको खाने, सुत्ने ठेगान हुँदैन। उनीहरूले आराम पाउँदैनन्। जाडो होस् वा गर्मी, उनीहरु विद्यालय जानुपर्छ, उनीहरुलाई तातो वा चिसो वातावरणको पनि ख्याल गरिँदैन। रिजल्ट राम्रो ल्याउनेमा मात्र विद्यालय बढी फोकस भएको देखिन्छ।
यसले बालबालिकामा सैद्धान्तिक ज्ञानको विकास भए पनि मनोवैज्ञानिक, सामाजिक र भावनात्मक विकासमा उनीहरू पछि परेका हुन्छन्। अहिलेका बच्चामा समग्र विकास देखिँदैन। पढाइको तनावका कारण कतिपय बिरामी भएको पनि पाइन्छ। अहिलेको सन्दर्भमा भन्नुपर्दा धेरै विद्यार्थीले परीक्षामा ए प्लस ल्याउन सफल त भएका छन्, तर कसैको अगाडि बोल्न, सामाजिक हुन नसकेको देखिन्छ।
मोबाइल
अहिले मोबाइलकै कारण धेरै अभिभावकलाई सजिलो भएको छ। सुरुमा बच्चाहरू मोबाइलमा अलमलिँदा अभिभावकलाई अन्य काम गर्न सहज हुन्छ, तर पछि बच्चाहरुलाई मोबाइल चलाउने बानी पर्न सक्छ।
अहिले अधिकांश बालबालिकामा परिस्थितिसँग जुध्न सक्ने क्षमता कम भएको विभिन्न अध्ययनले देखाएको छ। आफैँले समाधान गर्नुपर्ने सानो समस्या आए पनि महाभारत नै जस्तो लाग्ने देखिएको छ। किनभने मोबाइलसँगै उसको जीवन बितेको छ, सामाजिक विकास हुन पाएको छैन। उनीहरु परिवार, छिमेकी, साथीभाइ कसैसँग घुलमिल नहुँदा समस्याको हल निस्कन गाह्रो हुन्छ।
अहिले कोभिडका कारण पनि सामाजिकीकरणमा असर परेको छ। बच्चाहरू राम्ररी विद्यालय जान पाएनन्, साथीभाइ भेट्न पाएनन्, यसले केही हदसम्म समस्या ल्याएको छ। अहिलेको बच्चालाई ग्याजेट भए पुग्छ, खेल्नका लागि समेत बाहिर निस्कँदैनन्। यसकारण पनि परिस्थितिको सामना गर्ने क्षमता (कोपिङ मेकानिजम) निकै कम भएको देखिन्छ।