Kathmandu Press

नासाले खिच्यो सूर्यको सबैभन्दा नजिकबाट तस्बिर

काठमाडौँ — अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ ले एकपछि अर्को सफलता हात पार्दै गएको छ । पछिल्लो साता मंगल ग्रहमा पुगेको ‘इन्साइट’ यानले त्यहाँ बतास चलेको आवाज रेकर्ड ग....

नासाले खिच्यो सूर्यको सबैभन्दा नजिकबाट तस्बिर
मोहन दुलाल

काठमाडौँ — अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ ले एकपछि अर्को सफलता हात पार्दै गएको छ । पछिल्लो साता मंगल ग्रहमा पुगेको ‘इन्साइट’ यानले त्यहाँ बतास चलेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको थियो । 

झन्डै पाँच महिनाअघि ‘टू टच दि सन’ अभियान अन्तर्गत अन्तरिक्षमा पठाएको यान सूर्य नजिक पुगेर विभिन्न फोटो तथा जानकारीहरू पठाउन थालेको छ। ‘पार्कर सोलार प्रोब(पीएसपी)’ यानले सूर्य नजिक पुगेर जानकारीहरू पठाएको हो।

पार्करलाई गत १२ अगस्टमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। ताराहरूको गठन र बनावटबारे थप जानकारी प्राप्त गर्न सूर्यको वातावरण अध्ययन गर्ने उद्देश्यले यानलाई अन्तरिक्षमा पठाइएको हो।

Hardik ivf

पार्करले पठाएका तस्बिरहरू यानमा जडित तातोबाट बच्ने कवचहरूको पछाडिबाट लिएको नासाका वैज्ञानिकहरूले बताएका छन्। डिसेम्बर १३ मा खिचिएको तस्बिरमा बुध एउटा चम्किलो बिन्दुका रूपमा देखिएको छ। फोटोमा एउटा ‘कोरोनल स्ट्रिमर’ लाई चम्किलो फ्ल्यासमा राम्ररी हेर्न सकिन्छ।

नासाले ताराको गतिविधिहरूलाई राम्ररी बुझ्नका लागि सूर्यको सबैभन्दा नजिकबाट तस्बिर र जानकारीहरू प्राप्त गरेको यो पहिलो हो। फोटोहरू खिच्ने बेला पार्कर सूर्यको सतहबाट करिब २७ दशमलव १ मिलियन(दुई करोड ७१ लाख) किमी टाढा थियो।

पार्करद्वारा सम्प्रेषित फोटोमा बुधलाई एउटा चम्किलो कालो धब्बा ‘ब्लोब’ को रूपमा हेर्न सकिन्छ। कालो बिन्दुहरू क्यामेराबाट ‘पृष्ठभूमि समायोजन’ का कारण देखिएको हुन सक्ने बताइएको छ। सूर्यको अत्यधिक सक्रिय क्षेत्र ‘कोरोनल स्ट्रिमर’ नजिक सौर्य सामग्रीहरू तस्बिरमा चम्किलो रेखाका रूपमा हेर्न पनि देखिएको नासाको साइटमा उल्लेख छ। खगोलविद्हरूले पार्कर मिसन सूर्यको रहस्यमय प्रक्रियालाई बुझ्न सहयोग पुग्ने मूल्यवान् तथ्याङ्कहरू उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छन्।

नासाको ‘गोडार्ड स्पेस फ्लाइट सेन्टर’ का एक जना अन्तरिक्ष भौतिक शास्त्री टेरी कुकेराले भने, ‘पार्कर एउटा यस्तो क्षेत्रमा प्रवेश गरेको छ, जसलाई हामीले कहिले देखेकै थिएनौँ। अझ नजिक पुगेर जुन तस्बिरहरू हामीलाई पठाएको छ, त्यो साच्चिकै हामीलाई कोशेढुंगा साबित हुनेछन्। ’ उनले एउटा निश्चित दुरीमा रहेर हामी सूर्यको कोरोना वा बाहिरी भागको निरीक्षण गर्न सक्ने अवस्थाको नजिक पनि पुगिरहेको बताए।

नासाले पार्कर प्रोबले तीन मुख्य रहस्यहरूबारे जानकारी दिन सक्ने जनाएको छ। लामो समयसम्म वैज्ञानिकहरूलाई भ्रमित पार्ने केही तथ्यहरूलाई समेत यसले चिर्ने छ।

यो मिसनको उद्देश्य भनेको सूर्यको बाहिर सतह वा कोरोनामा नजिकैको सतहको तुलनामा तीन सय गुणा बढी तापक्रम हुनुका कारण, सौर्य बतास तीव्र गतिमा अगाडि बढ्नुको रहस्य र सूर्यको प्रकाशको आधा गतिमा केही कणहरू कसरी निस्किन्छन् भन्ने रहस्य पनि खोतल्नु रहेको छ।

‘पार्कर एउटा अन्वेषण अभियान हो, नयाँ खोजहरूको सम्भावना यसमा अत्यधिक छ ’ पार्कर शोधकर्ता नौर राउफीले भने , ‘पार्करको पछिल्लो गतिविधिबाट हामी हौस्सिएका छौ। ’

नासाको ‘पीएसपी’ले अहिलेसम्म सूर्यको नजिक पुगेको अन्तरिक्ष यानको तुलनामा सात गुणा नजिकसम्म पुगेर आफ्नो कार्य थालेको हो। गत अगस्टमा फ्लोरिडाको केप टाउनबाटलाई यसलाई प्रक्षेपण गरिएको थियो। यो यानले अत्यधिक ताप र विकिरणहरुको सामना गर्दैछ। ताराको नजिक पुगेको अवस्थामा यसको वेग ४ लाख ३० हजार माइलप्रति घन्टाको गति भएको नासाको रिपोर्टमा छ।

यो यानमा सोलार प्यानल, म्याग्नेटोमिटर, हाई गेन र इलेक्ट्रोम्योग्नेटिक एन्टेना, ८ फुट व्यास र साढे चार इन्च मोटो सेरामिकले लेप गरिएको कार्बनयुक्त तापीय कवच, सौर्य नजिकका कणहरूलाई सङ्कलन गर्न फराडे कप लगायतका आधुनिक उपकरणहरू जडान गरिएको छ।

सन् १९५८ मा सौर्य बतासबारे पहिलो पटक व्याख्या गर्ने ९१ वर्षीय युगेने पार्करको नाममा ‘पीएसपी’ को नाममा ‘पार्कर’ शब्द जोडिएको हो। उनी एक जना अन्तरिक्ष भौतिक शास्त्री हुन्। पार्कर प्रोबले सूर्यको नजिक पुग्ने रेकर्ड मात्रै तोडेको छैन यसले एउटा अन्तरिक्ष यानका लागि नयाँ गति रेकर्ड पनि स्थापित गरिरहेको छ।

हालै ‘फ्लाईबी’(हवाईपूल) माथि यसले ३ लाख ७५ हजार किमीप्रति घन्टाको गति हासिल गरेको छ। यसअघिका यानको गति फ्लाईबीमा लगभग २ लाख ५० हजार किमीप्रतिघन्टा रहेको थियो।

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, मंसिर २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्