भिगन अभियान : स्वस्थ जीवनशैली र जनावरप्रतिको प्रेमभाव
भिगन भन्नासाथ विशुद्ध शाकाहारी भनेर बुझ्नुपर्छ । भिगनले माछामासु, अन्डा मात्र होइन, जनावरबाट उत्पादित खानेकुरा र लत्ताकपडा समेत प्रयोग गर्दैनन्।काठमाडौं, चैत २० : भिगन (शाकाहारी)ले शरीरलाई आवश्यक पौष्टिक तत्व कसरी प्राप्त गर्छन् ? ‘वर्ल्ड भिगन अर्गानाइजेसन नेपाल’का अध्यक्ष सुरेशप्रसाद शर्माले यो प्रश्नको सामना दैनिक गर्नुपर्छ । उनी आठ वर्षदेखि भिगन हुन्।
‘भिगन भन्नासाथ विशुद्ध शाकाहारी भनेर बुझ्नुपर्छ । भिगनले माछामासु, अन्डा मात्र होइन, जनावरबाट उत्पादित खानेकुरा र लत्ताकपडा समेत प्रयोग गर्दैनन्,’ शर्मा भन्छन्, ‘भिगन शारीरिक रूपमा स्वस्थ हुने जीवनशैली र जनावरप्रतिको प्रेमभाव हो । हामीले मासुका लागि जनावरलाई मारेर हिंसा गरिरहेका छौँ, त्यसलाई रोक्नुपर्छ । त्यसैले हामी भिगन बन्न आवश्यक छ।’
जनावरमा पनि मानिसमा जस्तै भावना हुने उनको विश्वास छ । उनले उदाहरण दिँदै भने, ‘बाच्छाबाच्छीलाई छुट्ट्याउन खोज्दा गाई रोएको दृश्य हामीले धेरै देखेका छौँ । त्यसले जनावरमाथि भावना हुने पुष्टि गर्छ।’
जनावरका मासुले मात्र शरीरमा पोषण मिल्छ भन्ने धारणा गलत रहेको उनी ठान्छन् । एक दशकदेखि भिगन रहेका भारतीय नागरिक कुन्तल जोइसरले सगरमाथा आरोहण गरेका उनी बताउँछन् । कुन्तल भिगनमा पहिलो सगरमाथा आरोही हुन्।
‘मानिसहरु मलाई भन्थे– सगरमाथा आरोहण गर्ने मान्छेले माछामासु नखाए त सकिँदैन । एकदम धेरै स्वस्थ माछामासु लगायत खानेकुरा खानुपर्छ भन्थे,’ सोमबार (१४ चैत) मा काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित पत्रकार सम्मेलनमा भेटिएका कुन्तलले भने, ‘मासुबाहेक अन्य परिकारले पनि शरीरमा शक्ति दिन्छ, यो कुरा धेरैलाई थाहा रहेनछ, जुन मैले सगरमाथा आरोहण गरेर पुष्टि गरेँ।’
उनले सगरमाथा आरोहण गरेको कतिपयले पत्याउँदैनन् । सगरमाथा चढेको र भिगन भएको थाहा पाएपछि कतिपयले उनलाई सोध्ने गर्छन्– तपाईं साँच्चै भिगन हो?
मानवले जनावर मारेर खाने मात्र होइन, जनावरका रौँबाट बनाइने कपडा समेत प्रयोग गर्न नहुने उनको धारण छ । ‘कपडा बनाउनकै लागि ठूलो संख्यामा जनावरलाई मार्ने र दुःख दिने काम गरिन्छ,’ कुन्तल भन्छन्, ‘मानिसले आफ्नो खुसीका लागि जनावरको स्वतन्त्रतालाई हरण गरिरहेका छन्।’
जनावरलाई मार्न नहुने सोच उनी विश्वभर फैलाउन चाहन्छन् । त्यसैले भिगनका विभिन्न कार्यक्रमा उनी सहभागी हुन्छन् । भिगन हुनु सस्तो र सहज हुने भिगन संस्था नेपालका सदस्य युवराज मास्की बताउँछन्। ‘वनस्पतिमा आधारित खाना सहजै र कम शुल्कमा बजारमा पाइन्छ,’ युवराज भन्छन्, ‘भान्सामा पाक्ने महँगा परिकार हटाउँदा भिगनका परिकार बन्छन् । त्यसैले भिगन हुनु महँगो हुँदैन।’
उनको भनाइमा भिगन हुनु भनेको शान्तिप्रिय हुनु हो । ‘किनकि भिगनले जनावरलाई मार्नु हुँदैन भनेर सिकाउँछ,’ उनले भने, ‘माछामासुको सेवनका लागि हिंसा गर्नुपर्ने हुन्छ । भिगन बन्न रुचाउने व्यक्ति जनावरलाई माया गर्ने स्वभावका हुन्छन् ।’ जनावरका छाला, रौँबाहेकका पनि बजारमा अन्य कपडा पाइन्छ । कपडाका लागि जनावरको हत्या आवश्यक नभएको उनी बताउँछन्।
भिगन फेस्टिभल
२० वर्षअगाडि सुप्रिम मास्र्टर चिङहाईले नेपालमा भिगन भित्र्याएकी हुन् । भिगनसँगै उनी मेडिटेसनको गुरुका रूपमा चर्चित छिन् । त्यसपछि सन् २०११ क्यानडाका रकस्टार ब्रान्ड नेपाल आएका थिए । रंगशालामा उनीहरूले आफ्नो कार्यक्रम सकेपछि भोलिपल्ट समाचार आयो– रकस्टार ब्रान्ड भिगन हुन् । त्यसपछि भिगनका बारेमा चर्चा हुन थालेको भिगन युवराज मास्की बताउँछन्।
वर्ल्ड भिगन संस्थासँग सहकार्य गरेर नेपालमा वर्ल्ड भिगन संस्था नेपाल खोलिएको हो । वल्र्ड भिगन संस्थाबाटै पहिले भिगनसम्बन्धी विभिन्न कार्यक्रम हुन्थे । पहिलोपल्ट आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा तीनदिने ‘द हिमालयन भिगन फेस्टिभल’ हुन लागेको छ । सोही कार्यक्रमका लागि नेपालमा वर्ल्ड भिगन संस्था नेपाल ६–७ महिनाअगाडि खोलिएको मास्की बताउँछन्।
उक्त फेस्टिभल काठमाडौंको सोल्टी होटलमा गर्ने योजना छ । फेस्टिभलमा भिगनका परिकार बनाउन सिकाउने युवराज बताउँछन् । ‘फेस्टिबलमा ३२ भन्दा बढी देशबाट एक सयभन्दा बढी विज्ञ तथा ज्ञाता आउँछन्,’ उनी भन्छन्, ‘जसमा एक सयभन्दा बढी भिगनका परिकार प्रदर्शनी समेत गरिनेछ । स्वास्थ्यलाई ध्यानमा राखेर भिगन फेस्टिभललाई अगाडि बढाउन खोजिएको हो।’
के हो भिगन ?
वनस्पतिमा आधारित परिकार मात्र खानेलाई भिगनका रूपले चिनिन्छ । भिगनले अन्न एवं गेडागुडीका परिकार मात्रै खाने गर्छन् । भिगनले अन्न र गेडागुडीबाट धेरै पोष्टिक परिकार तयार गर्ने गरेका छन्।
सिताके च्याउबाट भिगन मिट बन्छ, भटमासबाट दूध बनाइने भिगनहरु बताउँछन् । नेपाल मात्र नभई विश्वभर भिगनहरूका लागि एक सयभन्दा बढी परिकार रहेको अध्यक्ष शर्मा बताउँछन् । ‘फलफूल तथा तरकारी, भटमासको दूध, नरिवलको दूध, बदामको दूध, चामलको दूध, काजुको दूध, अन्न तथा गेडागुडी, ड्राइ फ्रुट्स, जडीबुटी मसला, च्याउ, तोफु इत्यादि खान सकिन्छ,’ उनले भने।
भिगन हुनुका फाइदा ?
यसका अनेकौँ फाइदाबारे बुझेर आफू पूर्ण भिगन भएको कुन्तल बताउँछन् । इकोसिस्टमलाई कायम राख्न, वातावरणलाई वनस्पतिमैत्री बनाउन, विभिन्न रोगबाट बच्न, स्वस्थ र शान्ति तथा मैत्रीपूर्ण जीवनयापन नै भिगनका फाइदा भएको उनी बताउँछन्।
‘प्रेसर, सुगर, क्यान्सर जस्ता रोग खानाकै कारण लागिरहेका छन् । त्यसैले वनस्पतिमा आधारित खाना खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ,’ उनी भन्छन्, ‘वनस्पतिजन्य खानेकुराले स्वस्थ रहन सहयोग पुग्ने केही अनुसन्धानले देखाएका छन् । जनावरको हत्या नगरी पनि मानिस स्वस्थ रहन सक्छौँ।’