Kathmandu Press

पोखरामा ‘राजद्रोही राजनेता’

पाेखरा, चैत १८ : चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारकामन्त्री, नेपाली कांग्रेसका नेता तथा...
पोखरामा ‘राजद्रोही राजनेता’

पाेखरा, चैत १८ : चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको सिनेप्लेक्सको हल खचाखच भरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित सरकारकामन्त्री, नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित अन्य दलका नेता तथा कार्यकर्ता, साहित्यकार, पत्रकार  आज सबै हलमा पुगेका  थिए।  

मुख्यमन्त्रीदेखि सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा जुटाउने माध्यम बनेको थियो ‘राजद्रोही राजनेता’ वृत्तचित्र। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीमा घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्यूज डट कमका सहकार्यमा निर्माण गरिएको हो।

बिपी कोइरालाको राजनीतिक जीवनको विसं २०३१ देखि २०३६ सम्मका घटनालाई समेटिएको वृत्तचित्र करिब ६ वर्ष लगाएर तयार गरिएको अन्वेषण न्युज डट कमका प्रधानसम्पादक जगत नेपालले जानकारी दिए। वृत्तचित्रमा राखिएका बिपी, गणेशमानलगायत नेतामाथिको राजद्रोहको मुद्दाको फैसला गर्ने न्यायाधीश जनकमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, बिपीको चिकित्सकका रुपमा काम गर्नुभएका डा मृगेन्द्रराज पाण्डे, पूर्वअञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतको सस्वर भनाइहरूले तत्कालीन घटना क्रमलाई जीवन्त रुपमा प्रस्तुत गरिएको देखिन्छ।

Hardik ivf

२०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्कंदा साथमै रहेका नेताहरू खुमबहादुर र कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंलगायतको भनाइ पनि वृत्तचित्रमा समेटिएको छ। हाल उनीहरुको निधन भइसके पनि यसअघि नै भनाइ लिइएको थियो ।

बिपीलगायत नेताहरू राष्ट्रिय मेलमिलापको नीतिका साथ स्वदेश फर्कन लाग्दा उहाँलाई नेपालको राष्ट्रपतिको पद ‘अफर’ गरिएकामा देश बचाउन पद कसरी छोडेको भन्ने पनि देखाइएको छ। वृत्तचित्रले नेपालको राजनीतिमा हुने गरेका बाहिरी प्रभावलाई जीवन्त चित्रण गरेको नेकपा ९एमाले०का गण्डकी प्रदेश कमिटिका उपसचिव रश्मी आचार्यले बताए। वृत्तचित्रमा तत्कालीन समयमा भारतबाट बिपीले पाएको सास्तीका साथै नेपालका शासकलाई विभाजित गर्न खेलिएका खेललाई प्रस्तुत गरिएको उनले जानकारी दिए। 

नेपाली कांग्रेसको संस्थापक बिपी आफूमाथिका आठवटा राजद्रोहसम्बन्धी मुद्दाकोसमेत प्रवाह नगरी २०३३ साल पुस १६ गते किन स्वदेश फर्कनुभएको र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रमा सूक्ष्मरुपमा प्रस्तुत गरिएको छ। वृत्तचित्रमा नेपाल प्रवेश गर्नासाथ राजद्रोहको मुद्दाका कारण मृत्युदण्डसमेत हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने दोहोरो त्रासकाबीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई प्रस्तुत गरिएको छ।

देश र जनताका लागि ज्यानको प्रवाह नगरी मेलमिलापको नीति लिएर स्वदेश फर्किएकाले नै बिपी राजनेता बन्न सफल भएको विषयलाई प्रस्तुत गर्दै वृत्तचित्रमा मुलुकको सार्वभौमिकता जोगाउन उहाँले खेलेको भूमिकाका साथै जोगिएको स्वाधीनताका विषयलाई प्रस्तुत गरिएको छ। ऐतिहासिक पात्रकै माध्यमबाट तत्कालीन समयका घटनालाई हेरेर अनुभव गर्न पाउनु पनि यसको विशिष्टता हो।

वृत्तचित्रमा ऐतिहासिक घटनाक्रमलाई जीवन्त रुपमा प्रस्तुत गर्न खोजिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए। वृत्तचित्र आगामी पुस्ताका लागि पनि प्रेरणादायी हुने जनाउँदै उहाँले यस किसिमका कामलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। 

इतिहासको संरक्षणका लागि अन्वेषण अभियानअन्तर्गत अन्य वृत्तचित्र पनि बनाइने भएको छ। ऐतिहासिक विषयमा १२ वटा अन्य वृत्तचित्र निर्माण प्रक्रिया अघि बढाइएको फाउण्डेशनका सदस्य सचिव अतुल कोइरालाले जानकारी दिनुभयो । वृत्तचित्रमा भिडियोग्राफी र सम्पादनको काम मानबहादुर थापाले गरेका छन्।

यस्ता ऐतिहासिक दस्तावेजको संरक्षण गर्ने जिम्मेवारी राज्य स्वयंको भए पनि नेपालमा यो विषय राज्यको प्राथमिकतामा पर्न नसकेको उनको भनाइ छ। राज्यले ध्यान नदिएकै कारण कैयौँ ऐतिहासिक तथ्य एवं सामग्री लोप भइसकेको वास्तविकतामा लोप नभएका तथ्य एवं् सामग्रीको संरक्षणका लागि अन्वेषण अभियानले काम गर्न लागेको अन्वेषण न्यूज डटकमले जनाएको छ।

फाउण्डेसनले अन्वेषण न्यूज डटकमको सहकार्यमा वृत्तचित्र निर्माणलाई अघि बढाएको हो। इतिहासजस्तो गम्भीर विषयमा श्रव्यदृश्यजस्तो खर्चालु प्रविधिमार्फत ऐतिहासिक दस्तावेजको संरक्षण गर्नु चुनौतीपूर्ण काम भएकाले अभियानले सहकार्यका लागि पनि इच्छुकसँग आह्वान गरेको छ।

 ‘राजद्रोही राजनेता’ तयार पारेसँगै अन्वेषण अभियानले ‘प्रजातन्त्रका लागि अपहरण’ र ‘मिसन ओखलढुङ्गा’ वृत्तचित्र तयार गरी सम्पादनको अन्तिम चरणमा रहेको जनाइएको छ । ‘राजद्रोही राजनेता’ वृत्तचित्र काठमाडौँपछि पहिलोपटक पोखरामा प्रदर्शन गरिएको जानकारी दिँदै अन्वेषण न्यूज डट कमका प्रधानसम्पादक नेपालले आगामी दिनमा यसलाई देशव्यापी देखाइने बताए। (रासस)

प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्