प्रथम नायिका चन्दलाई छायाछविको लाइफटाइम लिजेन्ड्री अवार्ड

कठमाडौं, चैत ११ : छायाछवि क्रियसनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ।
छायाछवि क्रियसनले डि सिने अवार्डका अवसरमा छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषमहिला) एवं छायाछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।
छायाछवि क्रियसनले यस वर्ष छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गर्ने भएको छ।

२०२२ सालमा निर्मित आमा चलचित्रपछि चन्दले हिजो आज भोली, दुई थोपा आँसु, कोसेली, सीमारेखा, नेपाली बाबुलगायत धेरै चलचित्रहरुमा अभिनय गरेकी छन्। उनले विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिशृंखला, भिडियो चलचित्रलगायत धेरै अनुभव बटुलेकी छन्।
विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी चन्दलाई यस वर्षको छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड प्रदान गर्न लागिएको हो।
त्यस्तै यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामालाई प्रदान गरिने भएको छ। २०४१ सालमा सार्बजनिक भएको चलचित्र आदर्श नारीबाट विजय लामाले आफ्नो अभिनय यात्रा प्रारम्भ गरेका थिए।

लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनमा लगायत करिब दुई दर्जन चलचित्रमा अभिनय गरेका छन्। साथै लामाले हलिउड चलचित्रमा समेत काम गरिसकेका छन्।
नेपाल एयरलाइ्रन्स्का सिनियर पाइलट समेत रहेका यिनै विज लामालाई यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मानबाट सम्मान गरिन लागेको हो।
त्यस्तै यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरिने भएको छ।
.jpg)
थापाले २०५३ सालमा चलचित्र ‘दाइजो’ नेपाली रजतपटमा प्रवेश गरेकी हुन्। उनले धर्मसंकट, गोर्खाली, बादल पारी, जिवन साथि, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइ, ओमलगायत सयौं चलचित्र छन् भने उनले ए मेरो हजुर २ बाट निर्देशकको समेत पहिचान बनाएकी छन्।
पछिल्लो चरणमा चलचित्र निर्देशन तथा निर्माणमा समेत थापाले निरन्तरता दिएकी छन्। यिनै झरना थापालाई यस वर्षको छायाछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिने भएको हो।
यस्तै यस वर्षको छायाछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णु सुवेदीलाई प्रदान गरिने भएको छ।
.jpg)
पर्वतमा जन्मिएका सुवेदीले रेडियोमा काम गर्दै पत्रकारितामा प्रवेश गरेका हुन्। सुरुमा रेडियो तथा पत्रिकामा एकैपटक काम गरी प्रवेश गरेका सुवेदी यतिखेर आफ्नै लेन्स नेपाल डटकम वेबमा कार्यरत छन्।
मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा एवं पत्रपत्रिका हुँदै टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसर हुँदै टिभी फिल्मीको स्टेसन म्यानेजरका रुपमा सुवेदीले कार्यगत अनुभव सँगालेका छन्। यिनै विष्णु सुवेदीलाई छायाछवि चलचित्र पत्रकारिता पुरस्कार पुरस्कार प्रदान गरिदैछ।
छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार चैत्र २६ गते धुलिखेल सनराईज रिसोर्टमा हुने १२औं छायाछवि डि सिने अवार्डका अवसरमा प्रदान गरिने जानकारी गराए। अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए।
चैत १२ गते गर्नेगरी यसअघि घोषित १२औं डी सिने अवार्ड प्रविधिक कारणबस चैत २६ गतेलाई सारिएको डी सिने अवार्डका कार्यक्रम संयोजक समिर लामाले जानकारी दिए।












