पोर्चुगल विश्वकप छनोटको प्लेअफको फाइनलमा
काठमाडौं, चैत ११ : पोर्चुगल कतार विश्वकपको युरोपियन छनोटको प्लेअफको फाइनलमा पुगेको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टर्कीमा माथि ३–१को जित...
काठमाडौं, चैत ११ : पोर्चुगल कतार विश्वकपको युरोपियन छनोटको प्लेअफको फाइनलमा पुगेको छ। बिहीबार राति घरेलु मैदानमा भएको खेलमा टर्कीमा माथि ३–१को जित निकाल्दै पोर्चुगल प्लेअफ समूह सीको फाइनलमा पुगेको हो।
युरोपियन छनोटमा सिधै विश्वकपमा छनोट हुन असफल भएपछि पोर्चुगल प्लेअफ खेल्न बाध्य भएको थियो। फाइनलमा नर्थ म्यासेडोनियालाई हराउन सके पोर्चुगलले कतार विश्वकपमा स्थान पक्का गर्ने छ।
बिहीबार राति भएको खेलमा पोर्चुगललाई जित दिलाउन ओटाभिओ, डिएगो जोटा र म्याथुस नुनेसले गोल गरे । यता, टर्कीका बुराक इल्मासले गोल गरेका थिए।
१५औं मिनेटमा ओटाभिआले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। उनले डिबक्स बाहिरबाट बर्नार्डो सिल्भाले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि गोल गरेका थिए। ४२औं मिनेटमा जोटाले गोल गर्दै पहिलो हाफमा टिमलाई २–०को अग्रता दिलाए। उनले ओटाभिआकै क्रसमा हेडिङमा गोल गरेका थिए।
६५औं मिनेटमा बुराक इल्मासले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरे। ८४औं मिनेटमा इल्मासले नै सुनौलो मौका खेर फालेपछि टर्कीले बराबरीको अवसर गुमायो। पोर्चुगकाल जोसे फोन्टले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा बुराकको प्रहार आकासिएको थियो।
गोल गरेपछि टर्कीले पोर्चुगललाई दबाबमा राखेको थियो । गोलका केही अवसर पनि सिर्जना गरेको थियो । तर, इन्जुरी समयको चौथो मिनेटमा नुनेसले गोल गर्दै टिमलाई जित दिलाए । उनले राफायल लेयोको पासमा गोल गरेका थिए।











