क्यान अध्यक्ष चन्द भन्छन्–नेपालमाथिको प्रतिबन्ध आईसिसीले आफैँ फुकुवा गर्छ
काठमाडौं, असोज १३ : नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले क्यानमाथि लगाएको....

काठमाडौं, असोज १३ : नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन्।
आईसिसीकै सल्लाह र निर्देशनअनुसार काम भइरहेकाले आईसिसीको अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ। उनले भने,‘मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसिसीलाई राम्रोसँग थाहा छ। आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ। नेपालको पक्षमा निर्णय गर्छ।’
सोमबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको बताए। उनले भने,‘निलम्बन फुकुवाका लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आईसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आईसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ।’
उनले सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नभएकाले आईसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसिसीकै निर्देशनअनुसार आफूहरुले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे।
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए। ‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं,’ उनले भने।
खेलाडी छनोटको आधार तय गर्ने बताउँदै उनले भने,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानी ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं।’
प्रतिस्पर्धाका आधारमा सीईओ नियुक्ति
उनले क्यानको सीईओ नियुक्ति प्रतिस्पर्धाका आधारमा हुने बताए। ‘आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ। हामी आईसिसीको शर्तमा रहेर काम गर्छौं।’











