Kathmandu Press

इन्जिनियर उपप्रमुख : ‘बालविवाह कम गर्न पुरोहितसँग सम्झौतादेखि सक्षम छोरी योजना ल्याएका छौँ’ 

विद्यार्थी आन्दोलनबाट आएकी र पढे–लेखेकी भएकाले पार्टीले उनैलाई उपप्रमुखका लागि टिकट दियो । सृष्टि २६ वर्षको उमेरमा लोकप्रिय मत ल्याएर बुढीनन्दा नगरपालिकाको उप–प्रमुख पदमा विजयी भइन् । 
इन्जिनियर उपप्रमुख : ‘बालविवाह कम गर्न पुरोहितसँग सम्झौतादेखि सक्षम छोरी योजना ल्याएका छौँ’ 

काठमाडौं, चैत ८ : सृष्टि रेग्मी पोखरा विश्वविद्यालयमा स्नातक प्रथम वर्षमा पढ्दै थिइन्, त्यतिबेलासम्म उनको ध्यान पढाइमा थियो । पढाइपछि जागिर वा पढाइ अनुसारको पेसामा लाग्ने उनको लक्ष्य थियो । देश, काल र परिस्थिति भने उनले सोचेजस्तो थिएन । त्यतिबेला विश्वविद्यालयमा आन्दोलन हुने, तालाबन्दी गर्ने, परीक्षा समयमै नहुने जस्ता समस्या थिए । ‘शिक्षकको नियुक्तिमा पनि राजनीति हुन्थ्यो,’ सृष्टि भन्छिन्, ‘त्यसपछि मलाई महसुस भयो, विश्वविद्यालयका समस्या समाधानका लागि आवाज उठाउन पनि संगठन चाहिने रहेछ ।’

२०६८ देखि सृष्टि अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा होमिइन्, पोखरा विश्वविद्यालयमा उनको राजनीतिक यात्रा क्लास कमिटीबाट सुरु भएको थियो । उक्त विश्वविद्यालयको केन्द्रीय कमिटी महिला विभाग प्रमुख हुन उनलाई समय लागेन।  

बुवाको हत्यापछि

Hardik ivf

सृष्टिको जन्म बाजुराको बुढीनन्दा नगरपालिका– २ साबिकको कोल्टी गाविसमा भएको हो, २६ साउन २०४९ मा । उनका बुवा ताराचन्द्र रेग्मी २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष भएका थिए । आमा शान्ता स्वास्थ्यकर्मी (अनमी) हुन् । द्वन्द्वकालमा गाउँका बोर्डिङ स्कुल बन्द हुन पुगेपछि सृष्टिको परिवार २०५८ सालदेखि नेपालगन्जमा बस्न थाल्यो । उनकी आमा भने जागिरका कारण बाजुरामै बसिन्।  

उनका बुवा राजनीतिमै सक्रिय थिए । सबै ठीकै थियो, अकस्मात् सृष्टिको परिवारमा बज्रपात आइलाग्यो । ‘२०६० सालमा माओवादीले बाजुरा जिल्लाबाट अपरण गरी अछामको रामारोशनमा पु¥याई मेरो बुवालाई हत्या गरे,’ सृष्टि भन्छिन्, ‘त्यसपछि आमाको काँधमा जिम्मेवारी थपियो । मलाई पनि पढेर केही गर्नैपर्छ भन्ने लाग्यो ।’ 

सृष्टिका एक दिदी, एक दाइ र एक भाइ छन् । उनले कक्षा १० सम्मको पढाइ नेपालगन्जको ड्रिम ल्यान्ड इंग्लिस बोर्डिङ स्कुलमा गरिन् । काठमाडौंमा रहेको ट्रिनिटी इन्टरनेसनल कलेजबाट साइन्स लिएर इन्टर मिडिएट गरेपछि पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा उनी राजनीतितर्फ आकर्षित हुन पुगिन् । इन्जिनियरिङ सकेकी उनले भर्खरै चितवनबाट ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’मा मास्टर गरेकी छन्। 

उपप्रमुख हुने अवसर

इन्जिनियरिङ सकेपछि उनी जिल्ला प्राविधिक कार्यालय बाजुरामा इन्जिनियर पदबाट सेवा गर्न थालेकी थिइन् । जागिरकै सिलसिलामा उनलाई आफ्नै क्षेत्र बुढीनन्दा नगरपालिकामा फिल्डमा खटिनुपरेको थियो। 

जागिरको करिब चार महिना भएको थियो, त्यही बेला स्थानीय तहको चुनाव घोषणा भयो । स्थानीय स्तरमा उप–प्रमुखका लागि टिकट कसलाई दिने भन्ने छलफल भइरहेको थियो । सृष्टिलाई पनि छलफलमा सहभागी गराइयो । विद्यार्थी आन्दोलनबाट आएकी र पढे–लेखेकी भएकाले पार्टीले उनैलाई उपप्रमुखका लागि टिकट दियो । सृष्टि २६ वर्षको उमेरमा लोकप्रिय मत ल्याएर बुढीनन्दा नगरपालिकाको उप–प्रमुख पदमा विजयी भइन्। 

उप–प्रमुख भएको तीन वर्षपछि उनले प्रेमविवाह गरिन्, अछाम, विनायक नगरपालिकाका दमन विष्टसँग । दमन पेसाले इन्जिनियर हुन् । ‘विवाहपछि पनि श्रीमान् तथा घरका सदस्यबाट साथ र सपोर्ट रह्यो,’ सृष्टि भन्छिन्, ‘त्यसैले नगरपालिकालाई शत प्रतिशत समय दिन सकेकी छु । विवाहपछि दुईपटक मात्र घर अछाम गएकी छु, घरमा पनि समय दिनुपरेको भए नगरपालिकालाई समय दिन सक्दिनथेँ।’ 

सक्षम छोरी योजनादेखि प्रौढ शिक्षासम्म

सृष्टि स्वयं इन्जिनियर परिन् । छोरीहरुलाई टेक्निकल शिक्षा दिए आत्मनिर्भर बन्न सक्ने उनको अनुभव छ । त्यसैले आफूले छोरीलाई टेक्निकल विषय पढाउन यसै वर्षदेखि ‘सक्षम छोरी योजना’ ल्याएको उनी बताउँछिन्। 

‘म आफैँ बाजुरा जिल्लाकै टेक्निकल इन्जिनियर पढ्ने पहिलो महिला हुँ । टेक्निकल विषय पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतुले नै सक्षम छोरी योजना ल्याएकी हुँ,’ उनी भन्छिन्, ‘स्टाफ नर्स, ओभरसियर पढ्न चाहने किशोरीलाई छात्रवृत्ति दिने कार्यविधि बन्दैछ, कार्यान्वयन यसै हप्ताभित्र गरिसक्छौँ।’ 

त्यस्तै, न्यायिक समितिले ‘न्यायमा पहुँच कार्यक्रम’का लागि कोष स्थापना गरेको उनी बताउँछिन् ।  ‘हिंसामा परेका महिला, जो विविध कारण जिल्ला अदालत मातर्डीमा कानुनी परामर्श लिनका लागि जान पाइरहेका हुँदैनन्, त्यस्ता महिलाका लागि हामीले कार्यविधि बनाएर न्यायमा पहुँच कार्यक्रमको व्यवस्था गरेका छौँ,’ सृष्टि भन्छिन्, ‘जोखिममा परेका महिला तथा बालबालिका उद्धार कोषमार्फत टुहुरा बालबालिका र स्वास्थ्यमा उपचार गर्न नसक्ने महिलालाई आर्थिक सहायता गरेका छौँ ’ 

महिलाको रोजगारीका लागि हरेक वडाका उपभोक्ता समितिमा महिला मात्र रहने व्यवस्था गरेको उनी बताउँछिन् । उनका अनुसार, निरक्षर महिलालाई आत्मनिर्भर बनाउन हरेक वार्षिक कार्यक्रममा ‘क्षमता विकास कोष’ भनी बजेट छुट्ट्याइन्छ । ‘जसमार्फत महिलालाई सिलाइकटाइ तालिम, च्याउखेती र बाख्रापालनको तालिम, महिला तथा किशोरीलाई स्थानीय स्तरमै सेनिटेरी प्याड बनाउन सिकाउने तालिम दिएका छौँ,’ सृष्टि भन्छिन्, ‘यसका साथै निरक्षर महिलाका लागि प्रौढ शिक्षा कार्यक्रम समेत ल्याएका छौँ।’ 

बालविवाह कम गर्न पुरोहितसँग सम्झौता 

सृष्टि उपप्रमुख हुँदा छाउपडी प्रथा र बालविवाह बाजुराका मुख्य समस्या थिए । छाउपडी प्रथा हटाउन कार्यविधि बनाएरै एक सय ५० वटा छाउगोठ भत्काइएको उनी बताउँछिन् । ‘अहिले थोरै संख्यामा मात्र छाउगोठ छन्,’ उनी भन्छिन् । 

बालविवाह कम गर्न पुुरोहितसँग सम्झौता गरिएको उनी बताउँछिन् । कुनै पनि विवाहमा पुरोहित भएर सहभागी हुनुपर्व विवाह गर्ने जोडीको उमेर खुल्ने कागजात (नागरिकता वा स्कुलको प्रमाणपत्र) माग्न भनिएको छ । ‘उमेर खुल्ने प्रमाण मागेर मात्रै पुरोहितलाई विवाहमा सहभागी हुन भनेका छौँ,’ उनले भनिन्, ‘नगरपालिकामा ठूूलो समारोह गरेर दोहोरो हस्ताक्षर कार्यक्रम गरेका थियौँ।’

महिला प्रजनन स्वास्थ्यका लागि ‘उपप्रमुख कोसेली कार्यक्रम’ ल्याएको उनी बताउँछिन् । ‘स्वास्थ्य संस्थामै प्रसूूति गराउनका लागि उनीहरूलाई प्रोत्साहनस्वरूप केन्द्र सरकारले यातायात खर्च दिन्छ, तर त्यसमा उनीहरूको पहुँच नहुने हुँदा सुत्केरी महिलाका लागि अण्डा, ज्वानो, सरसफाइका सामान कोसेलीको रूपमा हस्तान्तरण गर्दै आएका छौँ,’ सृष्टि भन्छिन्। 

त्यस्तै, कोरोना महामारीका बेला महिलाको पोषणको समस्या होला भनी ‘पोषण चोला’ नामक कोसेली कार्यक्रम सञ्चालन गरेको उनी बताउँछिन् । जसमा दाल, चामल, तरकारी आदि वितरण गरिएको थियो। 

बुढीनन्दा नगरपालिका दुर्गम क्षेत्र भएकाले गर्भवती महिलालाई इमर्जेन्सी उपचार गर्नका लागि २० हजार रुपैयाँ प्रदान गर्दै आएको उनी बताउँछिन्।

कृषकको हितमा प्रत्येक वडामा पकेट क्षेत्र घोषणा गरी अनुदान सहयोग गर्न नीतिगत निर्णय भएको सृष्टिको भनाइ छ । ‘अहिले कृषकले जे पायो त्यही बाली लगाउँछन् ।

व्यावसायिक कृषिलाई प्रोत्साहन गर्नका लागि पकेट क्षेत्रको कार्यक्रम ल्याएका हौँ,’ उनी भन्छिन्, ‘कृषिलाई आधुनिकीकरण गर्नका लागि कृषि औजार हस्तान्तरण गर्दै आएका छौँ । महिलालाई पनि कृषिमा प्रोत्साहन गर्नका लागि नारी दिवसको दिन उत्कृष्ट कृषक महिलालाई सम्मान गरेका थियौँ।’ 

हिंसा सहन बाध्य 

न्यायिक समितिमा जग्गा सिमानाको विवाद बढी आउने सृष्टि बताउँछिन् । त्यस्तै, ज्याला मजदुरीको विवाद पनि न्यायिक समितिमा आउने गरेको उनको भनाइ छ । 

उनका अनुसार, बुढीनन्दा नगरपालिकामा मादक पदार्थ सेवन गरेर श्रीमान्बाट महिला पीडित भएको पाइन्छ । तर, आर्थिक रूपमा आत्मनिर्भर नहुँदा र आफ्नो तथा सन्तानको पालनपोषणमा श्रीमान्कै भर रहेकाले महिलाहरु बाध्यताले पनि हिंसा सहेरै बसेको उनी बताउँछिन् । न्यायिक समितिमा अहिलेसम्म सय जति मुद्दा दर्ता भएका छन् । समितिका सदस्य बसेर मुद्दा छिनोफानो हुने गरेको उनको भनाइ छ । 

नगरपालिकाभित्र २७ वटा मेलमिलाप केन्द्र पालिकाले नै तालिम दिई सञ्चालनमा छन् । ‘नगरपालिकाले नै सञ्चालन गरेर हरेक वडाबाट दुई–दुईजना मेलमिलापकर्ता राखेका छौँ, सकेसम्म सामान्य खालका मुद्दा वडामै मेलमिलाप हुन्छ,’ सृष्टि भन्छिन्, ‘तर त्यसको तथ्यांक पनि नगरपालिकामा राख्ने गरेका छौँ । त्यहाँ नमिलेका मुद्दा नगरपालिका आइपुग्छ।’

कर्मचारी हाबी

प्रमुख पुरुष र उपप्रमुख महिला रहेका स्थानीय तहमा पुरुषले बजेट तथा कार्यक्रम एकलौटी ढंगले सञ्चालन गरी महिलालाई पाखा पारेको गुनासो पनि आएका छन् । तर सृष्टिको अनुभव भने अलि फरक छ । 

आफूले पास गरेको नीतिनियम कार्यान्यन गर्ने पाटोमा कर्मचारीबाट अलि असहज भएको उनको अनुभव छ । ‘प्रमुखलाई सबैथोक तर उपप्रमुखलाई सहायक पाटो ठान्ने कर्मचारीको सोच देखिन्छ,’ सृष्टि भन्छिन्, ‘कर्मचारीले प्रमुखसँग मात्र समन्वय हुने गरेको पाइन्छ । कार्यालयका निर्णयमा प्रमुख र उप–प्रमुख दुवैलाई समन्वय गरेर लैजान कर्मचारी चुक्नुभएको छ।’ 

आगामी निर्वाचनमा उम्मेदवारी बन्छु भन्ने मानसिकता नरहेको तर भोलिको परिस्थितिमा पार्टीले खटाएर उठ्नुपर्ने परिस्थिति आए निर्वाचनमा लड्ने सृष्टिको भनाइ छ । प्रमुखको अधिकार क्षेत्र चौडा भएकाले अब उठे पनि प्रमुखमै उठ्ने उनले बताइन्।

प्रकाशित मिति: ११:२० बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्