Kathmandu Press

हरेक मार्चमा नेइमार किन मैदानबाट हराउँछन् ?

काठमाडौं, माघ २२ : केही साताअघि फुटबल पारखीहरूले सामाजिक सञ्जालमा ठट्टा गरेका थिए – मार्च आउँदैछ, नेइमार घाइते हुने बेला पनि आउँदैछ !

....

हरेक मार्चमा नेइमार किन मैदानबाट हराउँछन् ?
फाईल फोटो

काठमाडौं, माघ २२ : केही साताअघि फुटबल पारखीहरूले सामाजिक सञ्जालमा ठट्टा गरेका थिए – मार्च आउँदैछ, नेइमार घाइते हुने बेला पनि आउँदैछ !

नभन्दै माघ दोस्रो साता फ्रेञ्च लिगको एक खेलमा नेइमार घाइते भए । पीएसजीले स्ट्रासवर्गलाई २–० ले हराएको खेलको बीचतिरै नेइमारले खुट्टा खोच्याउँदै मैदान छाडे । 

यसपालि पनि नेइमारले दाँया खुट्टाको त्यही हड्डी भाँचेका थिए, जुन हड्डी भाचिँदा गत साल उनी च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्धको दोस्रो लेगको खेल खेल्नबाट बञ्चित भएका थिए ।

आखिर फुटबल पारखीहरूले नेइमार घाइते हुने पूर्वानुमान कसरी गरे त ? किनकि, विगत चार वर्षदेखि हरेक मार्च ११ आसपास नेइमार घाइते वा निलम्बित हुँदै आएका छन् । यस वर्ष मार्च ११ आसपास नेइमार खेल मैदान बाहिर हुन पुगेको यो पाँचौ पल्ट हो ।

मार्च ११ मा नेइमारकी बहिनीको जन्मदिन पर्छ । नेइमार आफ्नी बहिनीलाई खुब माया गर्छन् । उनीहरू एक–अर्काको हरेक इन्स्टाग्राम फोटोमा लाइक र कमेन्ट गर्छन् । यसैले, कतिपयले नेइमार बहिनीको जन्मोत्सव समारोहमा सरिक हुन हरेक मार्च ११ आसपास जानाजान घाइते वा निलम्बित हुने गरेको अनुमान गरेका छन् ।

नेइमारका फ्यानहरू विश्वकै सबैभन्दा महङ्गा फुटबल खेलाडीले बहिनीको वर्थडे केक खानकै लागि मार्च ११ अघि जानाजान खुट्टा भाँच्ने गरेको आरोप हास्यास्पद रहेको बताउँछन् । उनीहरू हरेक मार्च ११ मा नेइमार घाइते वा निलम्बित हुनुलाई अनौठो संयोगमात्रै मान्छन् ।

ब्राजिलको घरेलु लिगमा सान्तोसका लागि फुटबल खेल्दा नेइमारलाई बहिनी भेट्न कुनै समस्या थिएन । वार्सिलोनासँग अनुबन्धित भई स्पेन पुगेको पहिलो वर्ष पनि उनी मार्च ११ मा फुटबल मैदानमै थिए । तर, स्पेनमा फुटबल खेल्न थालेको दोस्रो वर्षदेखि चाहिँ नेइमार हरेक मार्चमा घाइते वा निलम्बित हुन थाले । 

सन् २०१४–१५ र २०१५–१६ को मार्च ११ मा नेइमार निलम्बित थिए । सन् २०१६–१७ को मार्च ११ मा उनी घाइते थिए । गत सिजनमा नेइमार वार्सिलोना छोडेर पीएसजी पुगे, विश्वकै महङ्गो खेलाडी बन्दै । तर, फ्रान्समा पहिलो सिजनमै उनी मार्च ११ आउने बेला घाइते भए । उनीबिनै पीएसएजीले रियल म्याड्रिडजस्तो बलियो टोलीसँग च्याम्पियन्स लिगमा भिड्नु पर्‍याे । परिणाम ? पीएसजी हार्‍याे । 

यस वर्ष पनि च्याम्पियन्स लिगमा म्यानेस्टर युनाइटेडजस्तो शक्तिशाली टिमसँग भिड्ने बेलामै नेइमार घाइते छन् । चिकित्सकहरूले उनले कम्तीमा १० साता फुटबल खेल्न नसक्ने रिपोर्ट दिएका छन्, जसको अर्थ हो – उनी मार्च ११ मा बहिनीसँग हुनेछिन् ।

नेइमारको उत्कृष्ट प्रदर्शनको मद्दतले पीएसजी फ्रेञ्च लिगमा गत सातासम्म अपराजित थियो । तर, नेइमार बाहिर भए लगत्तै पीएसजीको अपराजित यात्रा पनि टुङ्गियो । इटालियन प्लेमेकर भेराटी घाइते हुँदा पीएसजीको मिडफिल्ड कमजोर छ । नेइमारले प्लेमेकरको पनि भूमिका निर्वाह गर्दै भेराटीको अभाव महशुस हुन दिँदैन थिए । तर, नेइमार पनि घाइते भएपछि पीएसजीका मिडफिल्ड साच्चै कमजोर बन्न पुगेको छ । 

जब मार्चमा नेइमार फुटबल मैदान फर्किन्छन्, के त्यति बेलासम्म पीएसजी च्याम्पियन्स लिगमा सुरक्षित होला त ? 

एजेन्सीहरूमा आधारित

प्रकाशित मिति: ०७:२२ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्