जातीय विभेदविरुद्धको गीत गाउन सोही समुदायकै गायकगायिका खाेज्नु पनि जातीय विभेद : शिव परियार
काठमाडाैं, फागुन २६ : चर्चित गायक शिव परियारले जातीय विभेदविरुद्धको गीत गाउन सोही समुदायकै गायकगायिका खोज्दै हिँड्नु पनि जातीय विभेदको नमुना भएको बताएका...
काठमाडाैं, फागुन २६ : चर्चित गायक शिव परियारले जातीय विभेदविरुद्धको गीत गाउन सोही समुदायकै गायकगायिका खोज्दै हिँड्नु पनि जातीय विभेदको नमुना भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत त्यस्तो अभिव्यक्ति दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘जातीय विभेद उन्मूलन तथा जातीय समताका लागि दुई शब्द कोरिनेबित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार, नेपाली, विश्वकर्मा नै थर भएका गायकगायिका मात्र खोजी गरी हिँड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस विषय सम्बद्ध गायनमा उनीहरुलाई मात्र संलग्न गराउने सोच राख्नु पनि जातीय विभेदकै एउटा सुषुप्त नमुना हो।’
त्यस्ता गीत अन्य समुदायका चर्चित गायकगायिकाले गाए जनचेतना फैलाउन अझ बढी मद्दत पुग्ने धारणा पनि उनले व्यक्त गरेका छन्। ‘जातीय समताका लागि जनचेतना जगाउने गीत गैरउत्पीडित भनेर चिनिएका सम्प्रदायसम्बद्ध गायकगायिकाले गाउँदा झन यो विषयमा अझ जनचेतना फैलिन सक्दछ,’ उनले लेखेका छन्।
उनले जातीय विभेद कुनै एउटा सम्प्रदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएको र त्यसले राष्ट्रकै विकासमा बाधा पुर्याइरहेको दाबी गरेका छन्। यसको उन्मूलनका लागि सबैले प्रेमिल अभियान थाल्नुपर्नेमा उनले जोड दिएका छन्।
‘जातीय विभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको विकासको बाधक बनेको समस्या हो,’ उनले भनेका छन्, ‘यो समग्र नेपाल देशकै विकासको बाधक समस्या हो। सबैले बुझौं र सबैले यो निर्मूल पार्ने प्रेमिल अभियानमा आफूलाई आजैदेखि सामेल गरौं।’
उनको सो अभिव्यक्तिलाई एकाधबाहेक सबैैले समर्थन गरेका छन्। कृष्ण बास्तोलाले ‘एकदम सत्य कुरा हो दाइ’ भनेका छन्। शंकर परियारले लेखेका छन्, ‘एकदम राम्रो कुरा सर। आजभन्दा लगभग १५ वर्षअगाडि एउटा लोक गीत रुमाल धोको छु भन्ने गितमा नित्य गर्न हाम्रो क्लबले वा डान्स डाइरेक्टरले सबै दलित समुदायको केटाकेटी छान्दा मैले विरोध गरेको थिएँ।मान्छेहरु धेरैले जानेर अनि कमले नजानेर अशिक्षाको कारणले विभेद गरेका छन्।’
सम्राट श्रेष्ठले पनि होमा हो मिलाउँदै कमेन्ट गरेका छन्, ‘जातीय विभेद हाम्रो समाजको मूल समस्या हो, यसलाई सबै मिलेर अन्त्य गरौ।’
दीपेन्द्र सिंह धामीले जातीय विभेद हराउन थालेको महसुस भएको दाबी गरेका छन्। लेखेका छन्, ‘कुरा एकदम जायज हो शिव सर। अन्य गायकले गाएका उदाहरण पनि छन् तर एकदम कम। र, बिस्तारै यो जातीय विभेद हराइसकेको महसुसचाहिँ पाएका छौ है।’
पदम सुन्दर राहुल गुरुङले उनको पोस्टमाथि थप टिप्पणी गर्दै जातीय विभेद गलत मात्र नभएर जघन्य अपराध भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘जातीय विभेदलाई अनुभूत गर्न, जातीय विभेद गलत मात्र होइन जघन्य अपराध हो भनेर स्वीकार गर्न सबैभन्दा पहिला मानवभित्रको मानवीयता जाग्नु जरुरी छ। सार्क मुलुकका केही देशहरुमा सदियौं पहिला धर्म र जातिका नाममा मानवभित्रको मानवीयता मरिसकेको छ्। ती मरिसकेका मानवीयता जगाउन त्यति सजिलो छैन।’
उनले थपेका छन्, ‘गायक शिव परियारले माथि उजागर गरेका विषय त्यही मरिसकेको मानवीयता जगाउने एउटा सशक्त प्रयास हो। छुवाछूतजस्तो जघन्य अपराधको विषयमा हरेक चेतनशील नागरिकले हरेक पक्ष र कोणबाट यसरी नै आफ्नो सशक्त विचार राख्दै जानुपर्छ। अनि मात्र हामीले सोचेको समाज निर्माण गर्न सक्छौं। जातीय विभेद यतिसम्म छ कि उपल्लो जातको भन्नेहरुले आफ्नै सन्तानलाई फनानो जात जस्तो भन्ने अनि उत्पीडित समुदायहरुको छोराछोरी सन्तान आकर्षक देखिए कस्तो तिमी त फलानो जातजस्तो तिमि त तिम्रो जातजस्तै देखिन्न भन्ने। यी सबै कहीँ न कहीँ जातीय विभेदको एउटा रुप हो।’
समीर केयरलेस नाम भएका एक फेसबुक प्रयोगकर्ताले कला र साहित्यको सीमा हुँदैन भनेर पनि टिप्पणी गरेका छन्।












