Kathmandu Press

सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो : अध्यक्ष श्रेष्ठ

पोखरा, असोज ९ : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै....

सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो : अध्यक्ष श्रेष्ठ

पोखरा, असोज ९ : नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताएका छन्।

प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहेका श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको निरीक्षण गरेका छन्। त्यसक्रममा सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार गरेको र सातवटै राष्ट्रबाट ‘कन्फरमेसन’ पत्रसमेत आइसकेको बताए।

खेलकूदका भौतिक पूर्वाधारको अभावमा साग नरोकिने स्पष्ट पार्दै उनले भने, ‘दुई÷चार दिन यताउता पर्ला तर समयमै भौतिक संरचना निर्माण हुनेमा हामी विश्वस्त छौँ। राष्ट्रकै इज्जतको विषय भएकाले पनि साग भव्य र सभ्यरूपमा सम्पन्न गर्नु सबैको दायित्व हो।’

कात्तिक १५ गतेभित्र सबै संरचना निर्माण भइसक्ने र आयोजक राष्ट्र नेपाल भएकाले तयारी सम्बन्धमा कुनै कसर बाँकी नराखिने उनको भनाइ थियो।
राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले काठमाडौँ र पोखरामा हुने सागमा पूर्वाधार निर्माणका लागि आफूहरु दत्तचित्त रहेको बताए।

पोखरा रङ्गशाला फुटबल स्टेडियमका लागि बजेट अभाव नहुने र निश्चिन्त भएर काम अघि बढाउन उनले परियोजना प्रबन्धक दीपक बराललाई निर्देशन पनि दिए।

टोलीले पोखरा रङ्गशालाको फुटबल स्टेडियम, क्रिकेट मैदान, आर्चरी, कभर्डहललगायतको अनुगमन गर्नुका साथै खेलसम्बद्ध पदाधिकारीसँग छलफल गरेको थियो।

टोलीले सागका लागि पोखरामा तयारी गरिरहेका पुरुष–महिला ह्याण्डबल टोलीसँग तयारीबारे जानकारी लिएको थियो। टोलीले यसअघि पोखरा–२५ हेमजास्थित निर्माणाधीन फुटबल मैदान, पोखरा–१९ को गोष्तेघाट, सराङकोटलगायतका स्थानमा निर्माण भइरहेको पूर्वाधारको अनुगमन गरेको थियो।

प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्