Kathmandu Press

पुनर्निर्माण गरियो काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष जेठो भक्तपुरको रानीपोखरी

भक्तपुरमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै अर्को एउटा पुरातात्विक सम्पदा अवलोकन गर्ने थलो थपिएको रानीपोखरी उद्घाटनमा सामेल स्थानीय बताउँछन्। 
पुनर्निर्माण गरियो काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष जेठो भक्तपुरको रानीपोखरी

काठमाडौं, फागुन २२ : शिवरात्रिको दिन भक्तपुर नगरपालिका– १ सल्लाघारीका ७१ वर्षीय रत्नबहादुर गुरुङ पुनर्निर्मित रानीपोखरी नियाल्दै थिए । 

शिवरात्रिकै दिन उद्घाटन गरिएको पोखरी जति तामझामसहित तरंगित देखिन्थ्यो, गुरुङको मुहारमा पनि उत्तिकै खुसीहरू तरंगित भएको आभास हुन्थ्यो । यही ठाउँमा जन्मेर हुर्केका गुरुङ हँसिलो मुहारमा ‘नोस्टाल्जिक’ भए । ‘पहिले यो पोखरीलाई भूतपोखरी भन्थ्यौँ । हामी सानोमा यहाँ घुम्थ्यौँ, पौडी खेल्थ्यौँ,’ उनी बाल्यकाल सम्झन्छन्, ‘भक्तपुरको भित्री सहरमा बस्ने धोबीहरू र वरपरका मानिस यहीँ लुगा धुन आउँथे, यहीँ सुकाउँथे । सेनाले यो ठाउँ लिएपछि मानिसको आऊजाऊ बन्द भयो ।’ 

उनको जमानामा मानिसले खरानीले लुगा धुन्थे । उनले हेर्दाहेर्दै सेना आयो, साबुन आयो, तर पोखरी बिलायो । अहिले बनेको नयाँ पोखरीको ठाउँमा गुरुङ पुरानो पोखरीको आकृति उतार्ने कोसिस गर्छन्, ‘पहिले पोखरीको छेउछाउमा ठुल्ठूला ढुंगा थिए । पोखरीमा कहिल्यै पानी सुक्दैनथ्यो । बीचमा मर्मत सम्भार नहुँदा लोप नै भइसकेको थियो । अहिले धेरै राम्रो बनेछ ।’ 

Hardik ivf

रानीपोखरी भन्नेबित्तिकै धेरैको मनमस्तिष्कमा काठमाडौंको रानीपोखरी आउने गर्छ । तर, भक्तपुरको सल्लाघारीमा रहेको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो हो । पुरातत्वविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘भक्तपुरको रानीपोखरी नेपाल संवत् ७५० (वि.सं. १६८७) मा भक्तपुरका तत्कालीन राजा जगज्र्योति मल्लले बनाउन लगाएका हुन् । काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० (वि.सं. १७२७) मा प्रताप मल्लले बनाएका हुन् ।’ काठमाडौंको रानीपोखरीले संरक्षण पाइरह्यो । तर, भक्तपुरको पोखरीले संरक्षण नपाउँदा अस्तित्व हराउने क्रममा थियो । 

सेनाको  ब्यारेकभित्र 

यो पोखरी पहिले सल्लाघारीस्थित नेपाली सेनाको ब्यारेक (वीरेन्द्र सैनिक आवासीय मावि) को कम्पाउन्डभित्र परेको थियो । २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएसँगै रानीपोखरी क्षेत्रमा आवतजावत बन्द गरियो । तर पोखरीको वरिपरि रहेका देवता (कूलपूजा÷दिगु पूजा)का लागि भने वर्षको दुई दिन त्यहाँ प्रवेश गर्न पाइने व्यवस्था थियो । 

नेवार समुदायमा वर्षको एकपटक आफूले पुज्ने देवता अर्थात् कुल देवतालाई स–परिवार पूजा गर्ने चलन छ । सोही परम्परा अनुसार प्रजापति समुदाय वर्षको एकपटक यस पोखरीसँगै रहेको आफ्नो कुल देवतालाई पूजा गर्न आउने गरेको भेलबहादुर प्रजापति बताउँछन् । ‘सेनाले घेरेको बेला पनि कुलपूजाको दिन प्रवेश दिइन्थ्यो । अब रानीपोखरी पुनर्निर्माण भएपछि झनै सजिलो हुने भयो,’ उनले भने, ‘नगरपालिकाले पोखरी पुनर्निर्माण गरेर राम्रो काम ग¥यो । बन्न पनि धेरै नै राम्रो बनेको छ । हामीले नै यो पोखरी बिर्सने अवस्था आइसकेको थियो ।’

स्थानीयले पोखरीको पानी प्रयोग गर्न नपाएसँगै पोखरीको संरक्षण हुन पाएन । पानी सुकेर झारपात पलाई पोखरी नै नदेखिने अवस्थामा पुगिसकेको थियो । 

२०७५ वैशाखदेखि भक्तपुर नगरपालिकाको पहलमा पोखरीको सरसफाइ सुरु गरिएको हो । पुनर्निर्माण कार्य भने सोही वर्षको १ माघदेखि सुरु गरियो । ऐतिहासिक तथा पुरातात्विक अध्ययन टोलीको अध्ययनपछि यसको संरक्षण र पुनर्जीवनको कार्य अघि सारेको नगरपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा ‘भूत पोखरी’का नामले चिनिने यस पोखरीलाई जीर्णोद्धारपछि ‘न्हू पुखू’ नाम दिइएको छ । अबका दिनमा सर्वसाधारणका लागि समेत पोखरी खुला राखिने नगरपालिकाले जनाएको छ ।

शिवरात्रिकै दिन कृष्णराम त्वाती आफू बाल्यकालमा खेल्ने ठाउँ हेर्न आएका थिए, जहाँ उनी २०२८ सालतिर साथीहरुसँग खेल्थे । ‘त्यतिखेर झाडी थियो । अहिले कस्तो भएछ भनेर आज हेर्न आएको हुँ,’ उनले भने, ‘पोखरीको पुनर्निर्माण भएर ठाउँ नै अलग्गै देखिएको छ ।’ 

पोखरी नियाल्दै गरेका कमलविनायकका ५२ वर्षीय रामगोपाल दुवाल निकै खुसी देखिन्थे । ‘नगरपालिकाको आयोजनामा दुई वर्ष अगाडिदेखि हामीले ठाउँठाउँमा सरसफाइ गथ्र्यौं, यहाँ पनि दुई–तीनपटक ग¥यौँ । त्यति बेला यस्तो राम्रो बन्ला भन्ने सोचेका थिएनौँ,’ उनी भन्छन्, ‘यसले आन्तरिक पर्यटक पनि बढाउँछ र हामीजस्तो मर्निङवाक जानुपर्नेका लागि पनि राम्रो ठाउँ भयो ।’ 

भक्तपुरमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै अर्को एउटा पुरातात्विक सम्पदा अवलोकन गर्ने थलो थपिएको रानीपोखरी उद्घाटनमा सामेल स्थानीय बताउँछन् । 

नगरपालिकाबाट प्रकाशित ‘न्हू पुखू (रानीपोखरी) जीर्णोद्धार’ पुस्तकमा उल्लेख भए अनुसार, भक्तपुरको रानीपोखरी पुनर्निर्माणका लागि कुल २ करोड ५४ लाख ८३ हजार ५८७ रुपैयाँ खर्च भएको छ । पोखरीको पुनर्निर्माणमा २२ वटा टोलीका ८ सय ८४ जनाले श्रमदान गरेका थिए ।
 

प्रकाशित मिति: १२:१० बजे, आइतबार, फागुन २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्